धरान : धरान-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा शहिदभूमि-६ का १९ वर्षीय सुरज राईलाई गाँजा बोकेको स्कारपियो गाडी सहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार जिल्ला प्रहरी मोरङको प्रहरी टोलीले विराटनगर-१८ बाट मङ्गलवार को २ च ९५८२ नम्बरको स्कारपियोमा १५५ केजी गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

मङ्गलवार नै बेलबारी-२ का ३७ वर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउनसुगर र लागुऔषध नाइट्राजाम २० चक्की सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीले गढी गाँ.पा-२ घर भई दुहबी-३ डेरामा बस्ने २३ वर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

उदयपुरको कटारी-४ बाट ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरिकृष्ण राई, २६ वर्षीय करण लिम्बु, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय विकेश तामाङलाई लागुऔषध सहित पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूबाट लागुऔषध ट्रामाडोल र स्पास्मो ८७७ ट्याब्लेट बरामद गरेको छ ।