इटहरी : इटहरीमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको छ। कोशी प्रदेशमै पहिलो पटक इटहरीमा प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा सुरु भएको हो ।
इटहरीका सबै सामुदायिक विद्यालयका लागि छनोट भएका नर्सलाई सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा पठाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।
‘विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’, इटहरी उपमहानगरका नगर प्रमुख पौडेलले भने ।
नगर प्रमुख पौडेलले विद्यालयमा खटिएका नर्सले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्ने बताए। नर्सले स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउनुका साथै विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेको खण्डमा उपचारसमेत गर्ने उनले बताए ।
नर्सका लागि विद्यालयले कक्षाकोठाको व्यवस्था गरेको जनाएको विद्यालयमा खटिएका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधिसमेत व्यवस्था गरेको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।