धरान : धरानसँग पहाडी जिल्लाको छोटो सम्पर्क सडक र खानेपानीको दीर्घकालीन विकल्पको रूपमा लिइएको धरान–लेउति बहुउद्देश्यीय सुरुङ मार्गको लागि कोशी प्रदेश सरकारको आउँदो बजेटमा रकम छुट्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण गराइएको छ ।
नेकपा एकीकृत समाजवादी सुनसरी-१ क्षेत्रीय समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै बजेट विनियोजन गर्न माग सहित ध्यानाकर्षण गराएको हो ।
उक्त पार्टी धरान सहसचिव रिकेस विश्वकर्माका अनुसार नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा धरान लेउती सुरुङ मार्ग नसमेटिए पनि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सडक विभागले आर्थिक वर्ष २०७७/०७८ मा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरेर वातावरणीय, वित्तीय र भौगर्भिक दृष्टिकोणमा सुरुङ मार्ग बन्न सक्ने निष्कर्ष निकाले ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
पार्टीका सुनसरी-१ इन्चार्ज जीवन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । पत्रमा धरानमा खानेपानीको आपूर्तिका लागि दीर्घकालीन विकल्प सहित पहाडी जिल्लासँग धरान बाइपास हुने राजमार्गहरू भन्दा पनि छोटो दुरीका विकल्प हुने सुरुङ मार्ग बनाउन जरुरी भएको उल्लेख छ ।
सङ्घीय सरकारले सम्भाव्यता अध्ययन सम्पन्न भएपछि निर्माण प्रक्रिया अगाडी नबढाएकोमा गम्भीर ध्यानाकर्षण भएको प्रदेश सरकारलाई स्मरण गराइएको छ ।
ध्यानाकर्षण पत्र बुझेपछि कोशी प्रदेश सरकारले तमोर धरान खानेपानी आयोजना प्रयोजनको लागि आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने आश्वासन पाएको उक्त पार्टीले जनाएको छ ।
ज्ञापन पत्र बुझाउने प्रतिनिधि मण्डलमा पार्टी धरान अध्यक्ष रेवतीरमण राई, सचिवालय सदस्यहरू रोशनी राई, तीर्थ बिक, दुर्गा राई लगायत सहभागी थिए ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































