इटहरी : नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) सुनसरीले सहकारी ठगहरूलाई कारबाही गर्न माग गरेको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै सहकारी बचतकर्ताहरूको बचत फिर्ता हुनुपर्ने माग राखेको हो ।

जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेर नेबिसंघ सुनसरीले सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र ठगहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

ठगीमा संलग्न सहकारी संस्था वा व्यक्तिलाई संसदीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यससँगै आवश्यक परिमार्जन एवं संशोधन गरेर  माध्यमिक तहको शिक्षा निःशुल्क प्राप्त गर्ने लगायतका मौलिक हक र शिक्षा सम्बन्धी अन्य अधिकार सुनिश्चित हुनुपर्ने बताइएको छ ।

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि हुनुपर्ने जिल्ला सभापति प्रमोद भट्टराईले बताए ।

देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउनुपर्ने उनको भनाइ छ ।

Nsu 1NSU 2