धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उनी नगर प्रमुख भएको दुई वर्षपछि खानेपानीमा भएको अनियमितता बारे जानकारी लिन पूर्व जनप्रनिधिहरुलाई पत्र काटेर नगरपालिकामा हाजिर गराउने कुरा बताएका छन् ।

धरानमा खानेपानीको महाहाकार मच्चिएपछि पूर्व सांसदहरू, प्रदेश सभामुख, पूर्व मेयर, पूर्व उपमेयरहरू सहितको ध्यानाकर्षण पत्र बुझेपछि पूर्व जनप्रतिनिधिहरूलाई त्यस्तो जवाफ दिएका हुन ।

मेयर साम्पाङले खानेपानीको अभाव आफू आउन अघि पनि भएको बताउँदै निर्वाचित भएर आएपछि ठुलै समस्या रहेको थाहा पाएको बताए ।

खानेपानी आयोजनामा अनियमितता भएको नाराले चुनाव जिते पनि त्यसको छानबिन नगरिएको प्रसङ्गमा उनले ‘त्यस बारेमा पूर्व जनप्रतिनिधि तपाईँहरू लाई पनि पत्र काटेर के-के भएको हो भन्ने प्रश्न सोध्छु र नगरपालिकामै हाजिर पनि गराउँला’ भन्ने जवाफ दिएका हुन ।

उनले खानेपानी आयोजनाको टेक्निकल अडिट पनि गरिने बताए । त्यसको लागि रिपोर्ट तयार गर्न बोर्ड निर्देशक राजु पोख्रेललाई अनुमति दिएको बताए ।

साम्पाङले आवेगमा भने ‘एडिबी प्रोजेक्ट हुँदा जनप्रतिनिधि को थियो उ सँग जवाफ माग्छु, पूर्व जनप्रतिनिधि सबैलाई २ दिन भित्र लिखित जवाफका लागि पत्र पठाउँछु, कार्यालयमै हाजिर गराउन पनि सकिन्छ ।’

मेयर साम्पाङको त्यस्तो भनाइलाई पूर्व मेयर कुमारबहादुर कार्की ‘असभ्य व्यवहार भएको’ बताए । ध्यानाकर्षण पत्र बुझाएर बाहिर आएपछि सम्चारकर्मीसँग कार्कीले अनियमितको छानबिन गर्ने निकायहरू छन्, पद्धति र प्रक्रियाहरू छन् ‘उहाँ निर्वाचित भएर आएको २/२ वर्ष सम्म के गर्नु भयो’ भनी पत्रकारहरूले मेयर साबसंग प्रश्न गर्नु पर्ने बताए ।

पूर्व जनप्रतिनिधिहरू खानेपानीको मात्र होइन धरानको विकास, निर्माणको विषयमा मेयरलाई सघाउने, सुझाव दिने मनसायले मेयरसँग भेट्न गएको बताउँदै कार्कीले ‘अग्रजहरूप्रति उहाँको व्यवहार अपमानजनक’ भएको बताए ।

३ दिन अघि लिखित जानकारी दिएर ११ बजे भेट गर्ने समय लिएकोमा अग्रज पूर्व जनप्रतिनिधहरुलाई कार्यकक्षमा पुगेपछि आधा घण्टा बाहिरै पर्खाएको, ध्यानाकर्षण पत्र पढ्दै गर्दा अग्रजहरूका अघि एक्लै  ‘ग्रीन टी’ पिउँदै बस्नु सभ्य व्यवहार नभएको पूर्व मेयर तथा प्रशासक कार्कीको भनाई थियो ।

मेयर हर्क साम्पाङले खानेपानीको सतही उत्पादन घट्दो रहेकोले धरानमा चरम अभाव भएको स्वीकार गरे । खडेरी र जनसङ्ख्या बढकोले खानेपानी पुर्‍याउनु कठिन भएको उनको भनाई थियो ।

धरान उपमहानगरपालिकाका निर्वतमान मेयर तिलक राईले धरानको विकासको मोडल सामाजिक सद्भाव, जनचासोको कुरा राख्दा सामाजिक सञ्जालमा सद्भाव भड्किँदो स्टाटसहरु खेप्नु पर्ने अवस्था रहेको बताए ।

उनले टेक्निकल अडिट गर्नु राम्रो भएको बताउँदै मेयर साम्पाङलाई अभियन्ता हुँदा आरोप लगाएको कर्मचारी बोर्डका निर्देशक राजु पोख्रेललाई कायम राख्नु नैतिकतामाथि प्रश्न उठेको बताए । उनले ‘निर्देशकमा खुल्ला प्रतिस्पर्धा गराई योग्य कार्यकारी निर्देशक ल्याउनु पर्ने’ बताए ।

निवर्तमान मेयर तिलक राईले मेयर साम्पाङका समर्थकले पूर्व जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको भनी नामावली तयार गरेको सुनिएको थियो तर २ वर्ष अवधि पुरा हुँदा पनि भ्रष्टाचार भएको भए कारबाहीको प्रक्रिया किन नथालिएको ? भनी प्रश्न समेत गरे ।

उनले खानेपानीमा थुप्रै कुरा उठेको भएता पनि आफ्नो कार्यकालको अन्तिम समयमा खानेपानी बोर्ड र संस्थान समायोजन गर्दै बोर्ड जिम्मा लिएको बताए ।

बोर्ड निर्देशक पोख्रेलले आफ्नो कार्यकालको अन्तिम समयमा राजीनामा दिन लाग्दा स्वीकृत नगर्नुको कारण स्पष्ट गर्दै पूर्व मेयर राईले भने ‘किनकि एडिबी परियोजनाको सुरु देखि अन्तिम सम्मको सम्पूर्ण कारोबार उनैले नै गरेका थिए ।’

मेयर साम्पाङसंग उनले प्रश्न गरे ‘यो दुई वर्षको अवधिमा निर्देशक राजु पोखरेले सँग एडिबी परियोजनाको बारेमा के कति कुरा बुझ्नु भयो ?’ उनले धरान उपमहानगरपालिकाले खानेपानीको नाममा विदेशबाट आएका सहयोगहरूका बारेमा समेत श्वेतपत्र जारी गर्नु उचित हुने बताए ।

धरानमा खानेपानी अभाव छ भनेर मेयर साम्पाङले स्वीकार गरेपछि अभियन्ता हुँदा गरेका कुराहरू गल्ती रहेछ भनी आत्म ‘पुन मुल्याङकन’ गर्न मेयर साम्पाङ पूर्व मेयर राईले आग्रह गरे ।

उनले ‘हामी शिष्ट ढङ्गले नगरको गरिमा बोकेर एकताबद्ध भई पूर्व जनप्रतिनिधि, सिनियर मान्छे आएको’ बताउँदै भने ‘तपाई जस्तो स्वतन्त्र हुँ भन्दै जो पायो त्यही गर्न मिल्दैन हामी आफ्नै अनुशासन विधि प्रक्रिया अनुसार चल्छौ ।’

सबैले सहयोग गर्ने वातावरण गर्नुस् । जिम्मेवार भएर प्रस्तुत हुनुपर्‍यो । खानेपानी समस्या छ भनेर सार्वजनिक रूपमा स्वीकार गर्नुहुन्छ भने हातेमालो गरी समन्वय गर्न तयार छौँ । तर हिजो नबुझी मैले गल्ती गरे भनेर आउनुस् । खानेपानीको यथार्थ कुरा श्वेतपत्र सार्वजनिक गर्नु पर्‍यो भन्ने पूर्व मेयर राईले आग्रह गरे ।

धरानका पूर्व जनप्रतिनिधीहरुको प्रतिनिधिमण्डलमा निर्वतमान प्रतिनिधि सभा सदस्य जय कुमार राई, १ नम्बर प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, निर्वतमान सांसद उमिता बराइली, धरान उपमहानगरपालिका निर्वतमान मेयर तिलक राई, निर्वतमान उपमेयर मञ्जु भण्डारी, पूर्व मेयर कुमार बहादुर कार्की, पूर्व उपप्रमुख मीन सुब्बा लगायत पूर्व वडाअध्यक्षहरु थिए ।

ध्यानाकर्षण पत्रमा पूर्व मन्त्री तथा संविधान सभा सदस्य मीनबहादुर विश्वकर्मा, संविधान सभा सदस्य किरणकुमार  राई, संविधान सभा सदस्य कृष्णकुमार राई ,निर्वतमान प्रतिनिधि सभा सदस्य जयकुमार राई, १ नम्बर प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारी, निर्वतमान प्रदेश सांसद उमिता बराइली, सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, पूर्व प्रतिनिधि सभा सदस्य कुन्ता शर्मा, धरान उपमहानगरपालिका निर्वतमान मेयर तिलक राई, पूर्व मेयर मनोजकुमार मेयाङबो, निर्वतमान उपमेयर मञ्जु भण्डारी, पूर्व मेयर कुमारबहादुर कार्की, पूर्व उपप्रमुख मीन सुब्बा लगायतले हस्ताक्षर गरेका छन् ।

भिडियो :Purwa-janapratinidhi-3Purwa-janapratinidhi-2harka-sampang-2Purwa-janapratinidhi-4