धरान : धारामा पानी नआउँदा पानीको अभावले सर्वसाधारणलाई सार्वजनिक शौचालय, होटेल रेस्टुराँका साथै विद्यालयहरूमा दिसा पिसाब गर्न समेत समस्या भएको छ ।

सङ्खुवासभाबाट धरान झरेकी नैना माया राई गाडीबाट भानुचोक उत्रिएपछि खाजा पनि खानु पर्‍यो शौचालय पनि जानु पर्‍यो भन्दै एक होटेलमा गइन् । सामान राख्दै उनले खाजा अर्डर सकेपछि ‘साहु जी ५ मिनेट जान पाइन्छ ?’ भन्दै सोधिन् ।

उनले जवाफ पाइन् ‘ट्वाइलेटमा पानी छैन हजुर, सार्वजनिक शौचालय जानुस् ल !’ राईले छक्क पर्दै कपुरी न्युजलाई 'पाँच मिनेट मात्र त हो भनेको साहुजीले होइन बैनी बरु खाजा पनि उत्तै खानु भनेपछि फनक्क फर्किए ।' भन्दै सोधिन ‘साँच्चै धरानमा पानी छैन ?’ 

सार्वजनिक शौचालयमा छैन पानी :

पहाडी क्षेत्रका यातायातको ट्रान्जिट सेन्टर रहेको धरानमा टाढा टाढाबाट आउने यात्रुहरुलाई समेत धरानमा पानीको सङ्कटले शौच गर्न समस्या भइरहेको अवस्थामा बसपार्क स्थित सार्वजनिक शौचालयमा पर्याप्त पानी नभएको सफाइ कर्मचारी बताउँछन् ।

सार्वजनिक शौचालयमा कार्यरत आशा बास्फोर भन्छिन् : ‘ट्वाइलेट आउने मान्छेलाई पानी छैन भन्दा, मनपरी गाली खानुपर्छ ।’ पानी नभएको कारण सफा सुग्घर गर्न नि गाह्रो भएको उनले बताइन् । उनका अनुसार फागुन देखि धारामा पानी आएको छैन । 

शौचालय व्यवस्थापनमा वडाध्यक्ष रमेश राई सहित वडा सदस्यहरूले समन्वय गरिरहेका छन् । तर उपमहानगरपालिकाले एक ट्याङ्कर पानी समेत उपलब्ध नगराएको उनको भनाई छ । शौचालयमा पिसाब फेर्न पैसा नलाग्ने नियम बनाइएको छ, धारामा पानी आउँदैन कसरी सरसफाइ गर्ने ? उनको गुनासो छ ।

उनका अनुसार दिसा गरेको पैसा दैनिक १२ सय मात्र हुन्छ, ३ जना कर्मचारीमा १ जनालाई मात्र वडा कार्यालयले मासिक तलब दिने गरेको छ । उनले भनिन् ‘रात दिन गन्हाउने ठाउँमा बस्यो उठेको पैसाले पानी किन्नु पर्छ तर मान्छेले भने गाली मात्र गर्छन् ।’

चौकीदार मान बहादुर परियारका अनुसार शौचालयमा पानीका ५ वटा ट्याङ्की छन् । ट्याङ्कीमा एक थोपा पानी छैन । ट्याङ्करलाई पानी अर्डर गर्दा ४ देखी ५ दिनमा मात्र पालो आउँछ । शौचालयबाट उठेको पैसाले हालसम्म १५ पटक ट्याङ्करबाट पानी खरिद भएको छ । वडा कार्यालयको पहलमा ५ पटक टयाङकरको पानी आएको छ ।

शौचालयमा दिनमा ३ देखि ४ हजार मान्छे आउने भएता पनि हाल पिसाब फेरेको पैसा लिने गरेको छैन । उनले भने ‘पिसाब फेर्दा पनि शौचालय फोहोर भई दुर्गन्धित हुन्छ ।’

water-tankवडाध्यक्ष राईको भनाई 

वडा २ का अध्यक्ष रमेश राईले वडामै पानीको चरम अभाव भएको बताए । उनले भने ‘दैनिक ३ देखि ४ पटक जनताको डेलिगेसन आउने गरेको छ, आफै पानी नभएको कारण आजित भई सकेको छु ।’

यस्तो अवस्थामा सार्वजनिक शौचालयलाई व्यवस्थित र दुर्गन्ध रहित बनाउन हप्ता दिनमा २ देखि ३ हजार लिटर पानी उपलब्ध गराउँदै आएको उनले बताए । भने ‘हाल सम्म ४ ट्याङ्कर पानी उपलब्ध गराएको छु ।’

उनका अनुसार हजारौँ यात्रुहरूको चहल पहल हुने ठाउँ भएकोले शौचालयमा मात्र पानी लगभग दैनिक २ हजार लिटर चाहिन्छ । पानीको सङ्कटले भने जस्तो पानी नपुग्नु अस्वाभाविक नभएको उनको भनाई थियो ।

उनका अनुसार वडा २ भानुचौक वरिपरि ११ सय २० वटा होटेल र व्यवसायी छन् । पर्यटक, होटेल र  व्यवसायी समेतलाई शौचका लागि मात्र हजारौँ लिटर पानी चाहिने बताउँदै उनले खानेपानी बोर्डमा ४ पटक डेलिगेसन गए पनि समस्या हल नभएको बताए । 

होटेल व्यवसायी शाही 

धरान २ स्थित सस्तो किचन होटेल सञ्चालक विशाल शाहीले भने ‘पानी नभएकोले प्लाष्टिकको गिलास चलाउने गरेको छु ।’ टयाङकरबाट दैनिक २ हजार लिटर पानी ल्याउँदा पनि होटेल चलाउन गाह्रो भएको उनको भनाई छ ।

उनले भने ‘ग्राहकले ट्वाइलेट खोज्यो भने सार्वजनिक शौचालय देखाउने गरेको छु, के गर्नु बाध्यता छ ।’ ग्राहकलाई त्यसो भन्दा आफैलाई लाज लाग्ने उनले बताए । ट्याङ्करको पानीले होटेल चलाउन अब पानीको पैसा समेत खानामा जोडने बेला भएको शाहीको भनाई छ ।

प्रमेश श्रेष्ठ-पूर्व अध्यक्ष, होटेल एशोसिएन

नवयुग होटेलका सञ्चालक एवम् होटेल एसोसिएसनका पूर्व अध्यक्ष प्रमेश श्रेष्ठका अनुसार धरानका होटेल व्यवसायीको पानीको श्रोत अहिले ट्याङ्कर बनेको छ । दिन बिराएर ७ हजार लिटर पानी होटेलमा खपत हुँदा खर्च बढेको छ ।

ट्याङ्करमा पानी किन्नु परेकाले पाहुनालाई सबै थोकमा रेट महँगो बनाउनु पर्ने बाध्यता रहेको उनले बताए । कोठा रेट महँगो भयो भन्ने प्रतिक्रिया आइरहेको, पानी नभएका कारण मानिसहरू धरानमा बासै नबस्ने हो कि भन्ने शङ्का बढेको बताउँदै उनले भने ‘पानीकै कारण होटेल बन्द गर्नुपर्ने अवस्था समेत नआउला भन्न सकिन्न ।’

भानुचौकको मारवाडी वासा

धरान-२ मा मारवाडी वासा सञ्चालक मोतीलाल शर्माले हप्तामा २ पटक ट्याङ्करबाट पानी किन्नु परेको बताए । उनले भने ‘पानी नभएकोले ग्राहकलाई शौचालय प्रयोग गर्न अलिक टाइट गरेको छु ।’

सार्वजनिक शौचालयमा फोहोर दुर्गन्ध भएको कारण होटेल नै सार्वजनिक शौचालय बन्ने हो कि खतरा बढेकोले जो सुकैलाई शौचालय जान नदिने उनले बताए ।

होटेलमा २ वटा धारा भए पनि पानी किन्नु पर्ने बाध्यता छ । भनेको बेला ट्याकरले पनि पानी ल्याई नदिने बताउँदै भने ‘अनि ट्वाइलेटमा पानी कसरी खर्च गर्न सकिन्छ ।’

स्कुलले विद्यार्थीलाई शौचालय समस्या 

धरान ८ स्थित सहिद स्कुलका प्रधानाध्यापक राम बहादुर बिष्टका अनुसार पानी नभएकाले विद्यार्थीहरूलाई शौचालय जान सकस परेको छ । उनले भने ‘पानी नहुँदा फोहोर हुने भएकोले शौचालय नै बन्द गर्नुपर्ने अवस्था छ ।’

नाक बन्द गरेर जानुपर्ने अवस्थाको शौचालय सफा गर्न समेत पानी नभएको उनी बताउँछन् । खानेपानी बोर्डका निर्देशक राजु पोख्रेललाई पानी माग्दा ट्याङ्करलाई समन्वय गरेर आज मगंलबार ल्याई दिने भनेका थिए । तर स्कुलमा पानी आएन ।

प्रधानाध्यापक बिष्टले भने ‘सामुदायिक स्कुल हो आर्थिक स्रोत छैन कसरी ट्याङ्करको पानी किनेर खुवाउने ?’ विद्यार्थीलाई पानी खुवाउनै समस्या भएकोले शौचालय जानु घरबाटै विद्यार्थीहरू बोतलमा पानी बोकेर विद्यालय आउन बाध्य छन् ।

आफैले डिप बोरिङ गर्दै पब्लिक हाई स्कुल

धरान-१२ स्थित पब्लिक स्कुलका प्रधानाध्यापक ईन्द्र मोहन झाका अनुसार स्कुलमा पानीको ठुलो समस्या छ । उनले भने ‘विद्यार्थीलाई शौचालय जानु समेत समस्या भएकोले दैनिक १० हजार लिटर पानी ट्याङ्करको खरिद गर्दा पनि पानीको अभावै छ ।’

प्रधानाध्यापक झाका अनुसार सामुदायिक स्कुलले कति दिन पानी किनेर खुवाउन सक्छ अन्य स्रोत छैन पानी नभएका कारण विद्यार्थीको पठन पाठनमै समस्या आउन सक्छ ।

ट्याङ्करको पानी किनेर खुवाउन समस्या भइरहेकोले कोशी प्रदेश खानेपानी मन्त्रालयको सहयोगमा स्कुलले नै डिप बोरिङ गरेर पानी उपयोग गर्ने योजनाको सर्वे भई सकेको उनले बताए । भने ‘अहिले डिपीआरको काम भइरहेको छ ।’