धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको सोमबार भएको लिग चरणको खेलमा धरान १७ र धरान ६ बिच भएको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको छ ।

प्रतिस्पर्धापूर्ण खेलमा धरान-१७ का सुरज तामाङ फूर्वाले १ गोल गरे भने धरान ६ का विवेक पौडेलले १ गोल गरी खेल बराबरीमा पुर्‍याएका हुन ।

आजको खेलको अन्तिम क्षणमा धरान १७ का टिम कप्तान मिलन राईले रेड कार्ड प्राप्त गरी खेलबाट बाहिरिएका थिए । उनले खेलको ७५ मिनेटमा पहेँलो कार्ड पाएको २ मिनेटमा रेड कार्ड पाएका हुन ।

धरान १७ का मिलनले प्रतियोगिता अवधिमा अर्को खेल समेत खेल्न नपाउने आयोजकले बताएको छ ।

खेलको म्यान अफ दि म्याच धरान १७ का कृष्ण कुमार राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग कुल १५ खेल लिग चरणमा हुनेछ ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ।

सुवास राई स्मृति सुपर ८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन ।  प्रतियोगिता धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालबाट सुरु भएको हो ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

भोली मङ्गलवार धरान १४  र धरान ५ बिच प्रतिस्पर्धा हुनेछ ।