इटहरी : इटहरी उपमहानगरपालिका भित्रका संस्थागत (निजी) विद्यालयहरूले पुरानै ड्रेस कोड लागुगर्ने भएका छन् । कुनै पनि परिस्थितिमा ड्रेस कोड परिवर्तन नगर्ने निर्णय गर्दै निजी विद्यालयका सङ्गठनहरूले नगर सरकारबाट हुने जस्तोसुकै कारबाहीको जिम्मेवारी लिने बताएको हो ।

निजी विद्यालयका सङ्गठनहरूले शैक्षिक सत्र २०८१ को शुल्क प्रस्ताव दुई तिहाइ अभिभावकद्वारा अनुमोदन गर्नुपर्ने र पोसाकमा एकरूपता कायम गर्नुपर्ने विषय प्रति गम्भीर असहमति जनाएका छन् । सम्पूर्ण संस्थागत विद्यालयलाई परिपत्र गर्दै ४ वटा सङ्गठन (हिसान, प्याब्सन, एनप्याब्सन र मन्टेश्वरी एसोसिएसन) द्वारा उपमहानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरिएको छ ।

परिपत्रमा इटहरीका सरोकारवाला राजनैतिक दल, नागरिक समुदाय, स्वयम् उपमेयर एवम् कार्यपालिका सदस्यहरूले ऐक्यबद्धता जनाएको उल्लेख गरिएको छ । नगर कार्यपालिकाका बहुमत सदस्य, राजनैतिक दल र इटहरी बासी सचेत जनसमुदायहरूको साथ रहेको उनीहरूको दाबी छ । तीन बुँदे परिपत्रमा भनिएको छ, "शिक्षालयहरूले आफ्‌नो प्रचलित ड्रेस कोड अनुसार नै शिक्षालय सञ्चालन गर्ने। कुनै पनि परिस्थितिमा ड्रेस कोड परिवर्तन नगर्ने, शिक्षालयहरूबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै शुल्क लिने र आन्दोलनका क्रममा नगर सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयहरूमाथि गरिने कुनै पनि किसिमको कारबाहीको जिम्मेवारी सङ्गठनहरूले लिने ।"

निजी विद्यालयका सङ्गठनको परिपत्र पछि उपमहानगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छैन । उपमहानगर प्रमुख तथा शिक्षा समिति संयोजक हेम कर्ण पौडेल बाहिर भएकाले तत्काल यसै भन्न नसकिने शिक्षा शाखा प्रमुख द्रोण प्रसाद दाहाल बताउँछन् । नगर प्रमुख ज्यू आएपछि केही निर्णय गर्ने र कसरी निर्णय कार्यान्वयन गराउने भन्नेबारे छलफल हुने उनले जानकारी दिए ।

वैशाख ९ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाई सुरु हुँदै छ ।

Itahari Dress Code News 2