इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने उल्लेख गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । 

वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बताइएको छ। एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेको  प्रस्तावको समर्थनमा माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एमालेकै सांसद किशोरचन्द्र दुलाल समर्थक छन् ।

सोमबार संसद् सचिवालयमा दर्ता भएको सो प्रस्तावमा मुख्यमन्त्रीलाई कुनै पनि दीर्घकालीन प्रभाव पर्ने काम नगर्न आग्रह गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले यसअघि नै वैशाख ६ गतेका लागि प्रदेशसभा बैठक बोलाएका छन् । सभा बस्नु पूर्व नै एमाले र माओवादीले सङ्कल्प प्रस्ताव संसद् सचिवालयमा पेस गरेपछि मुख्यमन्त्री बिलखबन्दमा परेका छन् ।

कुनै हालतमा राजीनामा नदिने अडानमा रहेका मुख्यमन्त्री कार्कीलाई सङ्कल्प प्रस्तावले दबाब बढाएको छ ।Sankalpa-prastab-1sankalpa prastab 2