इटहरी : कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्रीलाई समर्थन गरेका ५२ सांसदहरूले समर्थन र विश्वासको मत फिर्ता लिएसँगै केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले हस्ताक्षरसहित कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनको प्रक्रिया अगाडि बढाउन निवेदन दिएका छन् ।

आइतबार ५२ सांसदको हस्ताक्षर सहित कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई निवेदन दिन पुगेका दलका नेताहरूले सरकार गठन हुने आधार रहेकाले सोही अनुसार गर्न आग्रह गरेका हुन् ।

एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको निवेदनमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको उल्लेख छ ।

गत आश्विन २७ गते एमालेका ३९ र नेपाली काँग्रेसका ८ जना सांसदको समर्थनका कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कात्तिक १ गते दुईतिहाई सांसदको विश्वासको मत पाएका कार्कीलाई केन्द्रीय गठबन्धनको फेरबदल सँगै एमाले र माओवादी सांसदले समर्थन फिर्ता लिएका हुन् ।