धरान : विक्रम राई स्मृति भेट्रान फुटबल चौथो संस्करणको उपाधि हाम्रो धरान भेट्रान क्लबले हासिल गरेको छ ।

धरान रङ्गशालामा शुक्रवार भएको  फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५-३ गोलले पछि पार्दै हाम्रो धरान भेट्रानले उपाधि जितेको हो । उपाधिसँगै हाम्रो धरानले १ लाख ५ हजार नगद पुरस्कार हात परेको छ ।

हाम्रो धरानको यो पहिलो जीत हो । यसअघि तेस्रो प्रतियोगिता आयोजक धरान भेट्रानले जितेको थियो । साबिक विजेता धरान भेट्रान यसपालि उपबिजेतामा चित्त बुझाउनु पर्‍यो ।

निर्धारित ६० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा हाम्रो धरानका पदम राई, कृष्ण कुमार लिम्बु, राकेश राई, सुरज श्रेष्ठ र राज राईको प्रहार गोलमा परिणत भयो ।

आयोजक धरान भेट्रानका विक्रम श्रेष्ठ, कृष्ण शाक्य र विष्णु सुनुवारले गोल गरे । सन्तोष बस्नेतको प्रहार बाहिरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान भेट्रानका विष्णु सुनुवार घोषित भई नगद ५ हजार १ सय प्राप्त गरे । बेस्ट गोलकिपर हाम्रो धरानका देव सिंह, बेस्ट डिफेन्स हाम्रो धरानका बिकास रानामगर, बेस्ट मिडफिल्डर धरान भेट्रानका रमेश गुरुङ र बेस्ट कोच हाम्रो धरानका हेम गुरुङ घोषित भए । उनीहरूले जनही नगद ३ हजार ५ सय पाए ।

सर्वाधिक गोलकर्ता धरान भेट्रानका डिल्लीराम राम श्रेष्ठ घोषित भए । उनले खेल अवधिभर ५ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच धरान भेट्रानका कृष्ण शाक्य घोषित भए ।

समापनमा विजेता र उपबिजेता टिमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य विजय राई, कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले पुरस्कार प्रदान गरे ।