धरान : धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबलको दोस्रो दिन शनिवार पहिलो खेलमा इटहरी भेट्रान क्लबले एभरेस्ट भेट्रान बेलबारीलाई ४-१ गोलले पराजित गरेको छ ।

दोस्रो खेलमा कन्काई भेट्रान सुरुङ्गाले ४-१ गोलले कटारी टाइगर भेट्रान्सलाई पराजित गरेको छ ।

प्रतियोगिता धरान भेट्रान क्लबको आयोजनामा भएको हो ।

निर्धारित ६० मिनेटको पहिलो खेलमा इटहरी भेट्रानका दिपेन राईले २ गोल, सन्तोष राई २ गोल गरे । एभरेस्ट भेट्रान बेलबारीका मन्दिप राईले पहिलो हाफमा १ गोल गरे ।

दोस्रो खेलमा कन्काई भेट्रानबाट दोस्रो हाफमा नन्द मुर्मुले र ज्योति उप्रेतीले १/१ गोल र धनबहादुर गुरुङले २ गोल गरे । कटारी टाईगरका साजकुमार आलेले पहिलो हाफमा १ गोल गरेका थिए ।

पहिलो खेलको म्यान अफ द म्याच इटहरी भेट्रानका दिपेन राई र दोस्रो खेलको म्यान अफ दि म्याच कन्काई भेट्रान सुरुङ्गाका धनबहादुर गुरुङ घोषित भए । उनीहरूलाई २१/२१ सय नगद पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ।