विराटनगर : मोरङको रंगेलीमा आगलागी हुँदा सखाप भएको सन्थाल समुदायको बस्तीका घरहरू कोसी प्रदेश सरकारले बनाइदिने भएको छ ।

गत: चैत्र ३ गते सन्थाल बस्तीमा आगलागी हुँदा २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । दैनिक जीविकोपार्जन गरेर गुजारा चलाउने उनीहरू आवास विहीन भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले आगलागी पीडितहरूसँग प्रत्यक्ष भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । उनले भने, ‘दुःखदायी अवस्था भएपनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’

मुख्यमन्त्री कार्कीले स्थानीय सरकार नगरपालिकाले सन्थाल समुदायलाई ऋणमा जग्गा व्यवस्थाको जिम्मा लिन आग्रह गरेका छन् । उनले भने, ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउन लिएको जग्गाको ऋणमा ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ ।’

विराटनगर-१२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । बस्तीमा ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर आफ्नै श्रमबाट मासिक किस्ता बुझाउँदै छन् ।

उक्त जग्गामा मुख्यमन्त्री कार्कीको पहलमा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरी घर निर्माण भएको छ । सोही मोडलबाट सन्थाल बस्तीमा पनि घर बनाउने अभियान सुरु गर्न पहल गरेका हुन् ।