धरान : नेपाली कथानक चलचित्र ‘बद्री बहादुर’ चैत २३ गते देखी देशभर प्रदर्शन हुने भएको छ ।

चलचित्रको प्रचारका लागि धरान आएको निर्देशक तथा नायक शोभित बस्नेत सहितको टोलीले मङ्गलवार सञ्चारकर्मीहरूलाई उक्त जानकारी दिएको हो ।

फिल्मको छायाङ्कन पूर्वी नेपालको सङ्खुवासभा, धरान, काठमाडौँ, र लमजुङमा गरिएको छ । उनले कोसी प्रदेश फिल्म सुटिङको लागि राम्रो स्थान भएकाले यस क्षेत्रलाई राजेको बताए ।

'बद्री बहादुर'को प्रचार प्रसारका लागि निर्देशक, नायक बस्नेतले मुम्बई गएर ‘कमेडी नाइट्स विथ कपिल’सँग भेटघाट भएको बताए ।

पत्रकार सम्मेलनमा सहायक नायक जय कृष्ण बस्नेत पनि थिए । उनले फिल्ममा हास्यको शृङ्खला रोचक रहेको बताउँदै भने, ‘धेरै हाँस्न सक्नेले फिल्म हेर्नु होला हाँस्नु सक्नु हुन्न भने नहेर्नु होला ।’

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । प्रस्तुत कर्ता विजय गोपाल दली छन् भने निर्माता मिथुन भोटे हुन् ।

चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत मुख्य भूमिकामा छन् । किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । विनोद सापकोटाको छायाङ्कन तथा समीर मियाको सम्पादन छ ।

चलचित्रबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन् । सङ्गीत टङ्क बुढाथोकी र उजन नेम्वाङको, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन रहको छ ।