धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले फागु पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा गरेको छ ।

सार्वजनिक स्थल सडकहरूमा अधिकतम प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

‘होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन सुनसरी जिल्ला भित्र १५ सयको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।’ अवाञ्छित क्रियाकलाप गर्नेलाई प्रहरीले पक्राउ गर्ने उनले बताए ।

कसैले इच्छा विपरीत रङ्ग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल रुम १०० मा तुरुन्त फोन गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । 

डिएसपी भण्डारीले भने, ‘इच्छा विपरीत रङ्ग दल्ने वा लोला हान्नेलाई गिरफ्तार गरेर सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइनेछ ।’ सुरक्षा योजना अनुसार जिल्लाको बजार क्षेत्रका मुख्य सडक, चोक गल्ली समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ ।

पछिल्लो समय धरानमा खुकुरी काण्ड र लुटपाटको घटनाहरूमा बढेको बताउँदै डिएसपी भण्डारीले होलीको दिन धरानमा विशेष सुरक्षा व्यवस्था गरिने बताए । उनले भने, ‘होलीको दिन धरानमा मात्रै ३०० जना प्रहरी अधिकारी फिल्डमा खटिनेछन् ।’

सकेसम्म होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा जिल्ला प्रहरी कार्यालयको प्रयास रहने उनले बताए । उनका अनुसार होलीलाई लक्षित गरेर धरानमा चेकपोइन्टहरू राखिएको छ । मोबाइल गस्ती पनि बढाइएको छ ।

होलीको बेला जिल्ला ट्राफिक कार्यालय सुनसरीबाट पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुवास केसीका अनुसार होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ  ।

विशेष गरी मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको उनले बताए । पर्वका नाममा सडक सडकमा बोतल बोकेर हिँड्नेहरूलाई पनि कारबाही गरिने प्रहरी निरीक्षक केसीले बताए ।

उनले भने, ‘पसलमा खरिद गर्न पाउँछन्, तर त्यही पेटीमा बसेर पिउन पाइँदैन । बाटोमा खाँदै हिँड्न पनि पाइँदैन ।’

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोटरबाइकमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने उनले बताए ।