- तूम्नो कुलुङ
नेपाली भाषामा एउटा उखान छ, ‘भिल्लको देशमा मणि ।’ यस्तै हुनु भएको छ, डा. युवराज तेयुङ लिम्बु । उहाँ मेडिकल विषय पढ्नु भएको एमडी डाक्टर हुनुहुन्छ । त्यसो भएपनि उहाँले आफ्नो विषय पेसाभन्दा फरक नेपालका आदिवासी जनजाति, मधेसी, दलित/शिल्पी, उत्पीडित वर्ग र समूहका बारे लेखेर कलम तिखार्नु भएको छ ।
त्यसको एउटै कारण हुन सक्छ, डा. युवराज तेयुङ लिम्बु स्वयं पनि नेपालका आदिवासी जनजाति मूलका किराँती भित्रका लिम्बु जातिका हुन् । त्यसो भएकोले पनि उहाँलाई आदिवासी जनजातिमाथि राज्यद्वारा भएको उत्पीडनका सम्बन्धमा धेरै राम्रोसँग थाहा छ ।
त्यसैले परिवारको आर्थिक स्थिति सुधार गर्ने जीवन तिर नलागेर समग्र देश र समाजको चिन्ता गर्दै आदिवासी जनजाति, मधेसी, दलित/शिल्पी लगायत उत्पीडित समुदायका बारेमा लेखेर कलमलाई तिखार्ने काम गर्नु भएको छ ।
यसरी हेर्दा मेडिकल डाक्टर, एक विज्ञले नेपाल र नेपाली समाजभित्र रहेको विभिन्न समस्याहरूका सम्बन्धमा चासो र चाख राख्दै कलम चलाउनु धेरै चासोको कुरा हो । विगत लामो समयदेखि फुटकर लेखहरू लेख्दै आउनु भएका उहाँले पछिल्लो पटक ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ नामक किताब लेखेर पाठकहरू सामु ल्याउनु भएको छ ।
किताबमा उहाँले समयमा लेख्नु भएका २९ वटा लेखहरू सङ्गृहीत रहेका छन् । ती लेखहरूको सङ्ग्रह रहेको किताबमा नेपालका उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द गरिएको पाइन्छ ।
अधिकांशले लेखहरू नेपालका आदिवासी जनजातिहरूका विषय र मुद्दालाई सशक्त ढङ्गले आवाजको प्रतिनिधित्व गरेको छ, बोलेको छ । लेखहरूमा उठाइका विषय सस्तो लोकप्रियताका लागि केवल ‘नारा मात्रै नदिएर, नलेखेर, जातीय पहिचान अथवा स्वपहिचानका तार्किक कुराहरू लिपिबद्ध गर्नु भएको छ ।
मेरो धारणमा पहिचान वा जातीय पहिचान भनेर मात्रै पुग्दैन, त्यसैले हामीले जातीय स्वपहिचान भनी लेख्नु, बोल्नु पर्छ । जातीय अधिकार, भाषिक अधिकार, धार्मिक अधिकार, स्वशासन आदिका नाममा अब नेपालमा केवल विगतको जस्तो एकल जातीयता एकल भाषिक खस नेपाली, एकल धार्मिक हिन्दु, एकल वेशभूषा जस्तै ढाका टोपी, दौरा-सुरुवाल आदि मात्रै हुनु हुँदैन । मेरो विचारमा खस-आर्य भन्नु भन्दा लेख्नुपर्ने चाहिँ आर्य-खस हो ।
राज्य सत्ता मा पनि एकल जातीय प्रभुत्व हुनु हुँदैन देशको जातीय, भाषिक, धार्मिक जनसङ्ख्याको बनोट जस्तो छ, त्यसै अनुसारको प्रतिनिधित्व राज्यको हरेक अङ्गमा हुनु पर्छ भनी लेख्नु भएको छ, डाक्टर लिम्बुले । त्यस क्रममा उहाँले एकल काँटे ढङ्गले आवाज नउठाएर, मन गढन्ते ढङ्गले फत्तुर मात्रै लगाएर नलेखेर हालसम्म राज्य सत्तामा भएका वा सहभागिता जनाएका जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग, वर्गको तथ्य, तथ्याङ्क सहित, उदाहरणसहित लेख्नु भएको छ, आफ्नो लेखमा उजागर गर्नु भएको छ ।
राज्य वा राज्य पक्षद्वारा विभेद गरिएको विभेदमा परेका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तस्बिर तथ्य, तथ्याङ्क र दसी-प्रमाणहरू पनि प्रायः जसो सबै लेखहरूमा राखिएको छ, उल्लेख गरिएको छ ।
यसरी हेर्दाखेरि हालसम्म नेपालमा राज्य पक्ष अथवा भनौँ शासकहरूले उत्पीडनमा पारेका विभेद गरेको वा विभेदमा पारिएका नेपालका आदिवासी जनजाति, अन्य उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत, महिला आदिको आवाजलाई बुलन्द ढङ्गले आवाज उठाएर लेखिएको धेरथोर किताबहरू मध्ये उल्लेखनीय बनेको छ ।
किताबले केवल आदिवासी जनजातिहरूको आवाजको मात्रै प्रतिनिधित्व नगरेर समग्र नेपालका उत्पीडित अथवा शासकहरूले उत्पीडनमा पारेका र विभेद गरिएको वा विभेदमा पारिएका नेपालका आदिवासी जनजाति, अन्य उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढङ्गले उठाएको छ ।
‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ किताबको पाना नम्बर–८७ मा बहुराष्ट्रिय राज्य नेपाल कि बहु प्रशासनिक सङ्घीय नेपाल ? शीर्षकको लेख, पाना ८७ मा लेखकले ‘हजारौँ नेपालीको बलिदान पश्चात् प्राप्त भएको पहिलो संविधानसभामा उल्लेख्य रूपमा आदिवासी, जनजाति, मधेसी र दलित सभासद्हरूको उपस्थिति रहेपनि आपन्नै बलियो राजनीतिक संस्था नभएको’ उल्लेख गरेका छन् ।’
सोही पानामा लेखेका छन्, ‘प्राय सम्पूर्ण राजनीतिक संस्थाहरूमा एकल जातीय पकड रहेको कारण सङ्ख्यात्मक हिसाबले उल्लेख्य रूपमा रहेपनि आदिवासी, जनजाति, मधेसी, दलितहरूको पक्षमा कुनै पनि निर्णय नभई संविधानसभाको नै अवसान भयो ।’
यो लेख प्रकाशित हुँदा २०६४ मा भएको पहिलो संविधानसभालाई राज्य पक्षका अनुदारवादीहरू डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रूपमा रहेका थिए । त्यसै बेला संविधान सभा विघटन गरेर दोस्रो संविधानसभाको निर्वाचन गर्ने क्रममा तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार बनेपछि तत्कालीन प्रमुख राजनैतिकदलहरू र खिलराज रेग्मीले सरकारप्रति लक्षित गर्दै लेख्नु भएको थियो ।
किताबको पाना १५१ मा, ‘नेपालमा आदिवासी जनजातिको मौलिक पहिचानको सवालमा ‘टप डाउन इज बटम अप दृष्टिकोण ?’ शीर्षकको अर्को लेखमा लेख्नु भएको छ, ‘सामाजिक द्वन्द्व, युद्ध आदि मानव सिर्जित घटनाहरू हुन् जुन मानव नियन्त्रित घटनाहरू हुन् । सायद प्रकृतिको आफ्नै उत्कृष्ट नियमहरू ल अफ नेचर छन्, जसले मानव सिर्जित भाष्यहरू; सर्वोच्च कमान्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरिब, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केही पनि बुझ्दैन ।’
सोही पानामा ‘प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्रको भिटो (ख्भतय) ले नै रोक्न सक्छ । समाजमा प्रचलित नियम कानुनहरू आदि समाज, सरकार र राज्यद्वारा अर्थात् मानव निर्मित दस्ताबेजहरू हुन् यसमा वर्चस्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, विश्वास र चाहनाको प्रभाव रहन्छ ।’ भनी लेखिएको छ ।
उक्त भनाई बाट डा.युवराज लिम्बुले संसारमा प्रचलित विचार राख्ने दुई सिद्धान्त ‘टप डाउन’ र ‘बटम डाउन’का बारेमा नेपालका आदिवासी जनजातिहरूले मयधलको सिद्धान्त रोज्ने कि ‘बटम अप’को सिद्धान्त रोज्ने ? सम्बन्धमा प्रश्न उठाउनु भएको छ ।
उहाँले नेपालका आदिवासी जनजातिहरूले मौलिक पहिचानको सवालमा विभिन्न उदाहरणसहित लामो व्याख्या गर्दै नेपालका आदिवासी जनजातिहरूले ‘बटम अफ एप्रोच’को सिद्धान्त अपनाउनुपर्ने विचार राख्नु भएको छ । त्यसको ज्वलन्त र पछिल्लो उदाहरण थप व्याख्या गर्दै एक नम्बर प्रदेशको नामाङ्कनलाई उल्लेख गर्नु भएको छ ।
अहिले कोशी नामाङ्कन भई सकेको प्रदेशलाई हाँका अनुसार सुरुमा–पहिले प्रदेश नं. १ को नाम ‘टप डाउन एप्रोच/बटम अप एप्रोच’ बिचको अनिर्णीत द्वन्द्वका कारण नाम रहन नसकी प्रदेश नं. १ नै रहन गएको उल्लेख गरिएको छ ।
अन्त्यमा नेपालका आदिवासी जनजाति, उत्पीडित जाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, वर्ग आदिको आवाजलाई बुलन्द ढङ्गले लेखिएको, सशक्त ढङ्गले विषय उठान गरिएको थोरै किताब मध्ये ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ नामक किताब पनि हो ।
त्यसैले हामी सबैले यो किताब पढ्नै पर्ने देखिन्छ । त्यसबाट हाम्रो बौद्धिक खुराक, ज्ञान, प्रज्ञान, विवेक, सिकाई, बुझाई, चेतना, चैतन्यको स्तर बढ्ने छ । पुस्तकमा हामीलाई हाम्रो आफ्नै विषय थाहा नभएका थुप्रै जानकारी प्राप्त हुने लेखहरू छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        