धरान : ‘धरान डे’मा लागेको मेलामा व्यापार गर्न हजारौँ रुपैयाँ खर्च गरेर आएका हुम्ला, जुम्ला र रुकुमका पाहुना टोली स्टल नपाएपछि घर फर्कन बाध्य भएका छन् ।
उनीहरू धरानको पर्यटनका साथै व्यापारका लागि आएका थिए । तर मेलामा स्टल नदिइएपछि फर्कन बाध्य भएका हुन् ।
धरानको १२३ औ स्थापना दिवसमा लागेको मेलामा उपमहानगरपालिकाले ७४ वटा स्टल मात्र आधिकारिकता दिए पनि हाल १०२ वटा स्टल चालु रहेको देखिएको छ ।
शुक्रवार धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा सुरुवात भएको उत्सवमा नेपालको सुदूरपश्चिम जुम्ला, हुम्ला, रुकुम पोखरा र पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ताप्लेजुङका समेत ७ स्थानबाट आर्गेनिक बस्तुहरू विक्री, प्रदर्शन र प्रचारका लागि स्टल राख्न आएकालाई भने स्टल नदिँदा उनीहरू घर फर्केका छन् ।
उनीहरूले १६ गते मेयर हर्क साम्पाङको सचिवालय र स्टल संयोजक विकास भाटीलाई फोन समेत गरी स्टल मागेका थिए । तर भेटेर स्टलका लागि नाम दर्ता गराए पनि स्टल नदिएको सङ्खुवासभा-४ का डिएलएलएम बहुउद्देश्यीय कृषि फर्मका दिलीप मगरले बताए ।
उनले भने ‘त्यति टाढा देखि खर्च गरेर १७ देखि १८ गते नै धरान आएर होटेलमा सामान राखेका थियौँ, सामान व्यवस्थापन हजारौँ रकम खर्च भयो तर १९ गतेका दिन स्टल संयोजकले स्टल छैन भन्दै सम्पर्कमै आउनु भएन ।’
मगरका अनुसार सुदूरपश्चिम जुम्ला, हुम्ला रुकुमबाट आएका पाहुना टोली स्टल नपाएपछि फर्केर गए । उनीहरू भने अझै स्टल पाइन्छ कि भनेर पर्खेर बसेका छन् ।
पाथीभरा कोसेली घर ताप्लेजुङका दुर्गा प्रसाद ढुङ्गानाले मेयर सचिवालय र संयोजकलाई पहिले नै फोन सम्पर्क गरी स्टल बुक गरेका थिए । उनले भने ‘पछि भेटेर कुरा गर्दा स्टल दिएनन् ।’ मेला सुरु भइसक्दा पनि अहिले सम्म स्टल नपाएको उनले गुनासो गरे ।








































































