धरान : एचआइभी एड्स सङ्क्रमितहरूका लागि राज्यले प्रत्याभूत गरेका सुविधाहरूबाट उनीहरू वञ्चित भएको सरोकारवालाहरूले बताएका छन् । शुक्रवार १ डिसेम्बर विश्व एड्स दिवसको पूर्व सन्ध्या बिहीबार धरानमा आयोजित छलफलमा उनीहरूले आधारभूत उपचारको अभावमा एचआइभी सङ्क्रमित मृत्युको मुखमा पुगेको अवस्था रहेको बताए ।

राष्ट्रिय एचआईभि तथा एड्स महासङ्घ कोशी प्रदेश सुपरभाइजर रोमन कुमार राईले राज्यले प्रत्याभूत गरेको सुविधाबाट सङ्क्रमितहरू वञ्चित रहेका ध्यानाकर्षण गराउँदै भने ‘उपचारको अभावमा एचआइभी सङ्क्रमितहरूको मृत्यु हुने गरेको छ ।’ राज्यले प्रत्याभूति गराएको अधिकारहरू उपचार, शिक्षा र रोजगारबाट सङ्क्रमित भएकै कारण वञ्चित हुनुपरेको उनको भनाई छ ।

राष्ट्रिय एचआइभी एड्स प्रदेश महासङ्घको आयोजनामा सुनसरी जिल्लाका सङ्क्रमितहरू सँग छलफल भएको हो । सङ्क्रमितहरूको चेक जाँच बाहेक उदयपुर, झापाका अस्पतालमा केही नहुने गरेकोले बिरामीहरू धरानको बिपी प्रतिष्ठानमा ल्याउनु पर्ने अवस्था छ । उपचार नपाउँदा कतिपयले अकालमै मृत्यु हुने गरेको छ ।

छलफलमा सहभागी एक सङ्क्रमितले भने ‘सङ्क्रमितहरू खुलेर अगाडी नआउने, आएकाहरूलाई अझै पनि अपहेलित गरिने भएकाले सङ्क्रमितहरू फैलने गरेको छ ।’ सक्रमितहरु बिरामी हुँदा हालसम्म कोशी प्रदेशमा बिपी प्रतिष्ठान र कोशी अस्पतालमा मात्रै उपचारको व्यवस्था रहेकाले पहाडी जिल्लाबाट केही भएको अवस्थामा समेत धरान नै झर्नुपर्ने अवस्था छ ।

सुनसरी जिल्लाको तथ्याङ्क अनुसार एचआइभी एड्सको औषधि एआरट्रि सेवन गर्नेहरूको सङ्ख्या ८ सय ९८ रहेको छ । अनुमानित सुनसरीमा सङ्क्रमितको सङ्ख्या २१ सय छ भने पत्ता लागेका संक्रमतिहरु १७ सय ५९ जना रहेका छन् । कोशी प्रदेशमा अनुमानित ३ हजार ५०० रहेकोमा हाल सम्म सङ्क्रमित पत्ता लागेको सङ्ख्या ३ हजार छन् ।

सुपरभाइजर राईका अनुसार बिपी प्रतिष्ठानमा सङ्क्रमितहरूको सबै उपचारको सेवाहरू भए पनि क्रोनोस्कोपी नभएकोले बिरामीले समयमा उपचार पाउने गरेका छैनन् । कोसी अस्पतालमा पिएमटिसिटी सेवा बाहेक केही नभएकाले कतिपय बिरामीको मृत्यु हुने गरेको छ । राज्यले उपचारको लागी हरेक जिल्ला अस्पतालहरूमा उपचारको सुविधा गरेमा सहज हुने राईले बताए ।

हाल सम्म स्थानीय तहहरूले एचआईभि सङ्क्रमित बालबालिकाहरूका लागी शिक्षामा बजेट विनियोजन नगर्दा सङ्क्रमित बालबालिकाहरू शिक्षा बाट वञ्चित छन् । एचआईभि सङ्क्रमित भएकै कारण क्षमता र योग्यता हुँदा पनि बैदशिक रोजगारमा एचआइभी सङ्क्रमितहरू वञ्चित छन् । नेपालमै पनि हाल सम्म सरकारी जागिरमा सङ्क्रमित भएमा निष्कासन गरेको अवस्था छ ।

यस्तो अवस्थामा सङ्क्रमितहरूलाई नेपाली नागरिकले पाउने अधिकार र सुविधा दिलाउन तिनै तहका सरकारको ध्यानाकर्षण उनीहरूले गराएका छन् ।