इटहरी : कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुने बित्तिकै केदार कार्कीले कोइराला निवास पुगेका छन् । निवास पुगेर केशव प्रसाद कोइराला र नोना कोइरालाको फोटोमा माला लगाएर ढोगेका छन् ।

कोइराला निवास नेपालको प्रजातान्त्रिक आन्दोलनको महत्त्वपूर्ण स्थान हो । काँग्रेस संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला देखि गिरिजाप्रसाद कोइरालाले समेत सोही निवासबाट राजनीति गरेका थिए ।

नेपाली काँग्रेस र नेपाली राजनीतिको ऐतिहासिक केन्द्र मानिएको निवास हाल डाक्टर शेखर कोइरालाले संरक्षण गर्दै आएका छन् । उनै डाक्टर कोइरालाको पहल र अडानमा कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

कोशी प्रदेश सभाका ९३ सांसद मध्ये ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीले एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थन जुटाएका हुन् ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका सांसद इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कार्कीले एमालेको समर्थनमा बहुमत पुर्‍याएका थिए ।

kedar-karki-2