धरान : बेलायती गोर्खा सैनिकले पहिलो र दोस्रो विश्व युद्धमा देखाएको वीरगाथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ को पहिलो प्रदर्शन संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा हुन लागेकोमा नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र निर्देशक समाजले विज्ञप्ति मार्फत अग्रिम बधाई र शुभकामना व्यक्त गरेको छ ।
निर्माता तथा निर्देशक मिलन चाम्स राई रहेको ‘गोर्खा वारियर’ सेप्टेम्बर १० तारिख लण्डन लेप्टर स्क्वायर स्थित आइम्याक्स सिनेवर्ल्डमा वर्ल्ड रेड कार्पेट सहित प्रिमियर सो हुन लागेको हो । चलचित्र अङ्ग्रेजी, नेपाली, हिन्दी ३ भाषामा बनेको छ । प्रिमियर सो अङ्ग्रेजी भाषाको हुने बताइएको छ ।
बेलायती प्रधानमन्त्री सुनकले चलचित्र निर्माण पक्षलाई पत्र मार्फत शुभकामना चलचित्रमा गोर्खा सैनिकको वीरता र बलिदानको चित्रण भएकोमा गौरव व्यक्त गरेको कुरालाई नेपाल चलचित्र निर्माता सङ्घ अध्यक्ष नबल खडका र नेपाल चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधानले नेपाली चलचित्रलाई विश्वव्यापीकरण गर्न सफल भएको वक्तव्यमा उल्लेख गरेका छन् ।
चलचित्र गोर्खा योद्धाको सत्य कथामा आधारित छ । सन १९४९ मा मलाया जङ्गलमा बेलायती सेनाको अधीनमा लडाइँमा सेवा गरेका गोर्खा सैनिकहरूको अनुभव चलचित्रमा प्रस्तुत छ। चलचित्रमा रितेश चाम्लिङ, विजय लामा, रेविका गुरुङ, कविता गौमाया आले, सारा राई लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
निर्माता, निर्देशक चाम्सको जन्मथलो खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढि-२ डाँडा गाउँ हो । उनी खोटाङमा माध्यमिक शिक्षा पछि बेलायती लाहुरे बने । लाहुरे पाइलट सगरमाथा आरोही हुँदै चलचित्रका नायक बनेका हुन । चलचित्रको छायाङ्कन नेपाल, भारत मलेसियामा भएको बताइएको छ ।


































































