धरान : धरान बास्केटबल सङ्घले बास्केटबल प्रतिभा छनौटका लागि सञ्चालन गरेको भर्खरै सम्पन्न प्रशिक्षण शिविरमा सहभागी खेलाडि विद्यार्थीहरू बिच एक दिने ट्यालन्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता धरान मेघा कलेजको मुख्य प्रायोजन, मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा शुक्रवार हुने भएको हो । धरान बास्केटबल सङ्घ अनुसार प्रतियोगितामा पुरुष तर्फ ६ टिम र महिला तर्फ २ टिम सहभागी हुनेछन् । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उनीहरू बैशाख ९ देखि ३० गते सम्म सञ्चालित बास्केटबल प्रशिक्षण शिविरमा सहभागी थिए । शिविरका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुबेदीले बताए ।
प्रतियोगिता धरान रङ्गशाला स्थित इनडोर बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।