धरान : धरान उपमहानगरपालिका वडा १७ को नियमित बैठक बसेको बेला हुलहुज्जत गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई सोमबार पक्राउ गरेको छ ।
वडा कार्यालयमा टोल विकास संस्था टिएलओको बैठकमा वडाको बजेट विनियोजन सम्बन्धी छलफल भइरहेको अवस्थामा समूह सहित आएर हुलहुज्जत गरेकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जनाएको छ ।
समूह सहित हुलहुज्जत गर्न आएका मध्येका तीन जनालाई टिएलओका सदस्यहरूले समातेर प्रहरीलाई बुझाएका थिए । पक्राउ पर्नेहरूमा धरान-१७ निवासी गोबिन्द श्रेष्ठ, लाक्पा तेञ्जिङ शेर्पा र 'क्रान्ति क्रान्ति' नामको फेसबुक पेज चलाउने ललित राई रहेको प्रहरीले जनाएको छ ।
ऊनीहरूसँगै आएका शिवशङ्कर राई लगायतका पाँच जना फरार भएको प्रहरीले जनाएको छ। उनीहरूले बैठकमा अभद्र शब्द बोल्दै कार्यालयमा तोडफोड गर्ने र वडा अध्यक्ष, वडा सदस्य र टिएलओका सदस्यहरूलाई गाली गलौज गर्दै हातपात गर्ने प्रयास गरेका थिए । 
पक्राउ परेका श्रेष्ठ आइतबार एक समूह लिएर वडाध्यक्ष मनोज भट्टराईलाई कालो मोसो दल्नु पर्छ र वडा कार्यालयमा तालाबन्दी गर्नु पर्छ भन्दै पुगेका थिए । पक्राउ परेकाहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
dharan-jaheri-dharan-17