इटहरी : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संसद् प्रवेश गर्न तेस्रो पटक प्रयास गरिरहेका छन् । पहिलो पटक २०७० सालमा रविन कोइराला र दोस्रो पटक वाम गठबन्धनका राम कार्की सँग पराजित भएका उनी अग्नि खरेल सँग चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेका उम्मेदवार खरेल राप्रपा सँगको गठबन्धनले  जित्ने दाउमा रहेका बेला शर्मा भने माओवादीको साथले हौसिएका छन् । 
झापा १ शर्माको लागी पुरानो क्षेत्र हो भने खरेलको लागि पहिलो अनुभव हो । पाहुना उम्मेदवारको आरोप खेप्दै आएका खरेलका अगाडी तिन पटक एउटै क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका शर्मा चर्को पर्ने देखिएका छन् । यसअघि वाम गठबन्धनबाट विजयी भएका राम कार्की निर्वाचन क्षेत्रमा फर्केर नगएपछि पाहुनाको विरुद्धमा माहौल बनेको हो । 
खरेलले आरोप चिर्नलाई मेहनत गरिरहँदा शर्मा नयाँ मतदातालाई आकर्षित गर्ने कार्यक्रम ल्याइरहेका छन् । युवा उम्मेदवारको खोजी भएको भन्दै उनले नयाँ मतदाता र काँग्रेसका मतदाता बचाउनमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
पार्टी एक ढिक्का हुनु र राप्रपा समेतको साथ पाउनुले बाकी उम्मेदवारहरू दोस्रो हुन प्रतिस्पर्धा गरिरहेको उनले खरेलले बताएका छन् । तथापि क्षेत्र नम्बर २ का खरेल १ मा पुगेपछि एमाले कार्यकर्ता नै असन्तुष्ट छन् । आफ्नो भोटको सुरक्षा नै खरेलको लागी चुनौतीको विषय बनेको छ  । 
शर्मालाई स्थानीय निर्वाचन देखी काँग्रेस महाधिवेशनको प्रभाव पर्ने आङ्कलन गरिएको छ । झापामा मूलतः वर्तमान महामन्त्री शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला प्यानल छ । स्थानीय तह निर्वाचनमा सिटौला निकट जिल्ला उपसभापति केशवराज पाण्डेको टिकट खोसेको आरोप शर्मा माथि छ । जसले शर्मालाई समस्या पर्ने आङ्कलन गरिएको छ । तथापि पाण्डे आफै चुनावी अभियानको कमान्डर भएका छन् । शर्मालाई विजयी गराए मात्र काँग्रेस बलियो बन्ने भन्दै उनले विगतको तुस बिर्सन कार्यकर्तालाई आग्रह गरिरहेका छन् । पाण्डे स्थानीय स्तरमा प्रभावशाली नेताको रूपमा चिनिन्छन् ।  
विगतमा केन्द्रीय सदस्यको हिसाबमा मात्र चुनाव लडेका शर्मा यस पटक महामन्त्रीको रूपमा चुनावी मैदानमा छन् । ५ वर्षमा बढेको राजनैतिक कदले उनलाई फाइदा पुर्याउने देखिन्छ । दुई पटक पराजित भएका शर्मा न्याय माग्दै चुनावी मैदानमा छन् ।
biswaprakash-sharma-2