सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरान उपमहानगरका नगर प्रमुख हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न नसक्ने बताएका छन् । आज धरानमा एमाले र जसपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहानगरको बजेटबाट सप्तकोशी नदिको पानी ल्याउन संम्भब नरहेकाले राष्ट्रिय योजनाबाट कोसी नदिको पानी ल्याउनु पर्ने बताए । 
नगर प्रमुख राईलाई खानेपानी ले ले भन्नु भन्दा पनि आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा नेकपा एमाले र जसपा पार्टीका उम्मेदवारलाई जिताएर कोसी नदिको पानी ल्याउने राष्ट्रिय आयोजना निर्माण गर्नु पर्ने दाबी गरे । ‘बिचरा यहाँका मेयरलाई पानीले पानीले भन्दै छन्, बिचरा कति वटा घैला बोकुन् ।’ ओलीले भने “नगरको बजेटबाट कोसीको पानी आउँदैन, यसका लागि जसपाका प्रतिनिधि सभाका उम्मेदवार अशोक राई र प्रदेश सभामा एमालेका दुई उम्मेदवारलाई भोट दिनुस् । पानीको समस्याबारे राष्ट्रिय योजना अनुसार कोसी नदिको पानी ल्याउँछौँ ।” 
बर्षाै देखिको अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याबारे आफू प्रधानमन्त्री भएको बेला धनी पुर्जा वितरण गर्ने समयमा परमादेशबाट बनेको सरकारले उक्त कार्य रोकेको आरोप लगाए ।  उनले अहिले पनि खोलानाला छेउछाउ बसोबास बढिरहेको बताए । धरानमा रहेको सेउती तथा अन्य खोलालाई नियन्त्रण गर्न तटबन्ध निर्माण गरी सकुुम्बासी समस्या पूर्ण रूपमा समाधान गर्ने समेत आश्वासन दिए । 
अहिले देशको आर्थिक सङ्कटमा एमाले सरकार नेतृत्वको खाँचो रहेको बताउँदै आगामी चुनावमा जसपाका नेता अशोक राईलाई प्रतिनिधि सभामा र एमालेका दुई उम्मेदवारलाई प्रदेश सभामा विजयी गराउन समेत आग्रह गरेका छन् । 
ओलीले धरान एमालेको लाल किल्ला भए पनि विगतका दुई स्थानीय तहको चुनावमा नराम्रो गरी हार बेहोरेको बताउँदै आगामी सङ्घ र प्रदेशको चुनावमा जसपा र एमालेका उम्मेदवारलाई जिताउन समेत नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका केही व्यक्तिहरू स्वतन्त्र-स्वतन्त्र भन्दै हिँडिरहेको तर्फ कटाक्ष गरेका छन् । उनले दलीय व्यवस्थामा एक्लो व्यक्ति उठेर केही नहुने भन्दै स्वतन्त्रको अस्तित्व नै नभएको टिप्पणी गरे ।