धरान : लोकतान्त्रिक वाम गठबन्धनलाई विजय गराउन धरानका निवर्तमान मेयर तिलक राई उम्मेदवार सँगै घरदैलोमा हिँडेका छन् ।
धरान १८ निवासी पूर्व मेयर तिलक राई लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन धरान ११ मा भएको घरदैलोमा सहभागी भएका थिए । आफ्नै वडाका उम्मेदवार रेवती रमण राई रहेकोले विशेष गरी सुनसरी १ (२) प्रदेश सभा ख तर्फ राई लागि परेका हुन् ।
आफू समेत टिकटको आशामा बसेका पूर्व मेयर राई लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता र भावना बुझेर सम्पूर्ण उम्मेदवारलाई विजय गराउन लागि परेको बताउनु भयो ।
घरदैलो कार्यक्रममा सम्बोधन गर्दै पूर्व मेयर राईले सुकुम्वासीहरूको समस्या समाधान गर्न आफ्नो कार्यकालमै लागत सङ्कलन भएको र सो कार्य निरन्तरता दिँदै सङ्घ र प्रदेशबाट काम गराइ धनी पुर्जा दिन लोकतान्त्रिक वाम गठबन्धनलाई विजय गराउनुपर्ने कुरा बताउनुभयो ।
सुनसरी क्षेत्र न १ को प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका मुक्सामहाङ्ग मेन्याङ्बो प्रदेश सभा क तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा र प्रदेश सभा ख तर्फ नेकपा एकीकृत समाजवादीका रेवती रमण राई रहेका छन् ।