रेल्वे चोकमा अघि नै स्कार्पियो रोकिएको थियो । स्कार्पियोको अघि दाहिने पटि नेपाली झण्डा भने देब्रेपटि चुनाव चिन्ह क्यालकुलेटर टाँगिएको थियो । हुटमा कालो स्पिकर राखिएको थियो । गाडीमा जोडिएको स्पीकरमा देशभक्ति गीत गुन्जिरहेको थियो “यो नेपाली शिर उचाली सन्सारमा लम्किन्छ”। केही समयपछि भने अब केही युवाहरू बाइकमा आए । बाइकको पछि चुनाव चिन्ह क्यालकुलेटरको झण्डा बाँधिएको थियो । गाडी छेउमा बाइक पार्क गरेर एकापसमा फोन गरागर गर्न थाले । कोही स्कुटरमा कोही सफारीमा भेला हुन थाले । अब भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बा देखा परे । नेपाली टोपी, निलो कुर्ता र निलै पेन्ट । खुट्टामा भने नाइकको स्पोर्टी जुत्ता लगाएका थिए । राष्ट्रिय झन्डा ओडेका थिए । आउने बित्तिकै उनले पनि यताउता फोन घुमाउन थालिहाले । बिहानीको नौ बजिसकेको थियो । पर्खापर्खी गर्दा गर्दै अबेर हुँदै थियो ।
त्यहिनै बेला इटहरीबाट आएकी साइँली बहिनी कमलाले रोहितलाई सयपत्री फुलको माला लगाइदिइन । अनि विजयको आशीर्वाद दिइन् । अब भने आउँदै गरेकोलाई नपर्खौँ भन्दै रोहित अघि बढे । अरू पछ्याउँदै उनको पछि लागे । उनको साथमा श्रीमती सीता सुब्बा थिइन् । झण्डा बोकेर श्रीमानलाई जिताउन कम्मर कसेर लागेकी श्रीमती सीता सुरुदेखि नै भोट माग्न खटिएकी छिन् । आफ्नो श्रीमानको माहौल त राम्रै देखिएको बताइन् । सबै कुरा त चुनाव पछि थाहा हुने उनले बताइन् । उनी भन्छिन् -“भरसक आफ्नो मान्छेले जितोस् भन्ने नै हुन्छ।”
चेलीबेटीको साथ तिहारमा मात्र होइन चुनावमा पनि देखिएको थियो । माइतीलाई सहयोग गर्न साइँली बहिनी कमला सुब्बा पनि इटहरीबाट धरान आएकी थिइन् । कमलाका अनुसार आफ्नो दाइले ९५ प्रतिशत जित्ने आशा रहेको बताउँछिन् । त्यो भन्दा पनि यत्रो साथीभाइको सहयोग पाउनु नै दाइको लागि ठुलो सहयोग भएको उनी बताउँछिन् ।
छोरा डेनियल मतदातालाई मत लगाउने तरिका बताइरहेका थिए भने भान्जी रुबिशाको काम भने रोहित सुब्बा लेखिएको ब्यानर बोकेर सबैले देखिने गरी बोकेर हिँड्नु हो । उनले पनि कुशलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । भान्जा राज राई पनि मामाको लागि जसरी हुन्छ खटिइरहेका थिए । उनले भने कार्यकर्तालाई खटाइरहेका देखिन्थे । ठुलीआमा सानीआमाहरु पनि रोहितका साथमा थिए । जानी नजानी उनीहरू पनि रोहितको लागि भोट माग्न आएका थिए ।
रोहित सुब्बा चुनावमा होमिएपछि यसरी परिवारमा एकता देखिएको थियो । अरू बेला पनि नभएको होइन तर यो चुनावले भने साँचीकै परिवार भनेको परिवार हुने देखाएको थियो । यसरी परिवारले साथ दिएपछि चुनाव जित्नु नजित्नु फरक कुरा हो । रोहितले चुनाव जितिसकेको परिवार र साथीभाइको बुझाई छ । उनी सँग पुरापुर साथमा सपरिवार र साथीभाइ हुनुले पनि यो विश्वास जागेको हो ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सदस्य, तरुण दल सुनसरीका उपसभापति रहेका उनी स्वतन्त्र बाट चुनाव उठेका हुन् । उनी भोट मागिरहँदा काँग्रेस नेता कार्यकर्ता उनलाई भेट्न आउँथे भने पार्टीले कारबाही गर्ने भएकोले भित्री रूपमा सहयोग गर्ने बताउँथे । यसले उनको मुहारमा खुसी ल्याउँथ्यो । अर्को कुरा राजनैतिक दलहरू प्रति अधिकांश मतदाताको निराशा देखिन्थ्यो । अधिकांश मतदाताले दलहरूलाई गाली गरेको देखिन्थ्यो । यस्तो सुन्दा भने उपस्थित सबैको अनुहारमा खुसीको भाव छचल्किन्थ्यो ।
भोट माग्न व्यस्त उनी सँग बोल्न फुर्सदै थिएन । एक छिनमा भेटौँ भन्दै हतारिएका रोहित भन्दै थिए –“चुनावी नतिजा मेरै पक्षमा छ, क्यालकुलेटरको हिसाब मिस्टेक हुँदैन”।
स्वतन्त्रको दिनभररोहित सुब्बा स्वतन्त्र उम्मेदवार हुन् । चुनाव चिन्ह क्यालकुलेटर लिएर उनी अहिले मङ्सिर ४ गते हुन लागिरहेको चुनावी मैदानमा एक्लै लडिरहेका छन् । उनी सुनसरी क्षेत्र नं. १(ख) बाट प्रदेश सभा सदस्य पदका लागि उठेका छन् । क्षेत्र नं. १ (ख) मा धरान उपमहानगर पालिकाको वडा ११, १६, १७, १८, २० । वराहक्षेत्र नगरको वडा १, २, ३, ४, ५ र रामधुनी नगरको वडा ६ र ७ पर्दछ । उनी जस्तै देशभर थुप्रै स्वतन्त्रले उम्मेदवारी दिएका छन् । उनीहरूसँग न सङ्गठन हुन्छ न पार्टी । तै पनि भोट मागिरहेका छन् । कसरी बित्छ त भोट माग्ने दैनिकी । यसबारे जानकार गराउनको लागि स्वतन्त्रको दिनभर हेरेर नमुना स्वतन्त्र उम्मेद्धारको कथा प्रस्तुत गरिएको छ ।
समय ९:४० रेल्वे चौक
रेल्वे चोकबाट सुरु भयो भोट माग्ने काम । नमस्कार गर्दै स्वतन्त्र उम्मेदवार रोहित सुब्बा मतदाताको ढोकामा गए । आफ्नो परिचय दिँदै भोट माग्दै गरेका रोहितलाई मतदाताले रेल्वे चौकमा सार्वजनिक टोइलेट बनाउन भन्दै थिए । म कोसिस गर्छु भन्दै रोहित घरदैलो गर्न अघि बढे । क्यालकुलेटरको झन्डा ओडेका युवा कार्यकर्ता भने मतदातालाई हात हातमा पर्चा बाँडिरहेका थिए । नमस्कार भन्दै चुनाव चिन्ह क्यालकुलेटरको प्रचारमा व्यस्त थिए । उत्साहको कमी थिएन ।
समय ९:५२ देवीथान लाइन
रोहित तलमाथि घरघरमा भोट माग्न गैरहेका थिए । मूल सडकमा भएकाहरू पनि भोट मागिरहेका थिए । हातमा चुनाव चिन्ह क्यालकुलेटरको झन्डा बोक्नेहरू यताउता हिँडिरहेका थिए। काँधमा क्यालकुलेटर झण्डा ओढेकाहरू पनि पर्चा बाँड्न व्यस्त थिए ।
समय ९:५८ इन्द्रेणी मार्ग
युवाहरू मतदातालाई गाइड गरिरहेका थिए । कोही अघि कोही पछि घरघरमा पसेर कार्यकर्ताहरू कसरी भोट हाल्नेबारे सिकाइरहेका थिए ।
समय १०.८ शान्ति टोल
अघि अघि रोहित सुब्बा भोट माग्दै हिँडिरहेका थिए भने पछि पछि कार्यकर्ताहरू चुनावी पर्चा बाँड्दै भोट लगाउन सिकाउँदै थिए । कोही युवा भने घरमा झन्डा गाड्न व्यस्त थिए । कोही भने स्टिकर टाँस्न पनि व्यस्त थिए ।
समय १०:४१ उदय टोल
रोहित सुब्बा भोट माग्न व्यस्त थिए । सडक भरी कार्यकर्ता थिए । पचास जनाको भिड सडक ढाक्न पर्याप्त थियो । महिलाको एक हुल आई पुगे । उनीहरूले रोहित सुब्बालाई माला र अबिर लगाइदिए । यो देख्दा रोहित सुब्बाको उत्साह झनै बढेको देखिन्थ्यो ।
समय ११:२८ नमस्ते चोक
घाम चर्किँदै गएको थियो। कार्यकर्ता ओझेलिदै थिए भने यता रोहित सुब्बामा भने अलिकति पनि जाँगर कम भएको थिएन। सडकमा उनको हिँडाई शक्तिशाली देखिन्थ्यो। अब भने तलतिरबाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य अशोक राई एक हुल आए । पछि पछि एका पटी छाता र अर्को पटी सूर्य चुनाव चिन्हको झन्डा गाडिएको गाडी आइरहेको थियो । अशोक राई सङै नेता कार्यकर्ता थिए । स्वतन्त्र उम्मेदवार रोहित सुब्बा र अशोक राईको जम्काभेट भने हुन पाएन । कारण अशोक राई मुख्य बाटोबाट नै हात हल्लाउँदै मत मागिरहेका थिए भने रोहित सुब्बा भित्र कुना कुनामा पसेर घरघरमा मत माग्नमा व्यस्त थिए । दुई जनाको भेट कस्तो होला भनेर जिज्ञासा बढेको थियो तर भेट हुन सकेन।
समय १२:०८
मध्यान्हको बेलामा सबै भोकाउन थाले । गाडीमा राखिएको बोतलको पानी पिइरहेका थिए । अब भने पालो पालो गरेर भात खाने तयारी भयो । महिलालाई प्राथमिकता रह्यो । सबै महिलाहरू गाडीमा चढेर भात खान गए । भोमिट हुनेलाई भने बाइकमा लगियो । महिलालाई प्राथमिकता दिइएको थियो ।
समय १:१७ चतरा मार्ग
भात खान गएकाहरू आइकसे तर यता भने रोहित सुब्बा भोकै भोट मागिरहेका थिए । कार्यकर्ता पालैपालो भात खाइरहेका थिए उनिभने भोट माग्नै व्यस्त थिए । तै पनि भन्दै थिए को को ले खान बाँकी छ जाऊ है । उनी छेवैमा रहेको मतदातालाई भन्दै थिए –जनजातिको छोरो हो झुट बोल्न जान्दिन, भोको बसेको हेर्न सक्दिन । अरूलाई भात खान जान भन्दै थिए । आफू भने घरदैलोमै व्यस्त बनिरहेका थिए ।
समय २:२०
अब भने रोहित सुब्बा भात खान गए । करिब एक घण्टा पछि फर्किएर आउने काम भयो ।
समय ३:२० पटनाली
सबैले खाना खाइसकेपछि टोली पटनाली लागे । अब भने पटनालीको घरदैलो सुरु भयो । घर घरमा मत माग्ने काम भयो । बेलुकी साढे छ बजेसम्म मत माग्ने काम भयो । लगभग पांचसय घरधुरीमा मत माग्न सकियो । अब भने अँध्यारो भैसकेको थियो । सबै भेला भएर भोलि भेट्ने बाचा सहित छुट्ने काम भयो । एक हुल नडाहातिर झरे भने एक हुल धरानतर्फ लागे । भोलि भोट माग्नु त छंदैछ ।
यता सफारीमा फिट गरिएको स्पिकर भने ननस्टप “सुनसरी क्षेत्र न १ ख का उम्मेदवार रोहित सुब्बालाई जिताऊ” भनेर कराइरहेको थियो ।