झापा : झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीका एक युवाको खुकुरी प्रहारगरी बीभत्स हत्या भएको छ।
बेलडाँगी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सीमा क्षेत्र रतुवा खोलाको पुलमा आज अपराह्न साढे ४ बजे तिर धारिलो हतियार प्रहार गरिएको हो।
गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ। चुलाचुली र दमकबिचको झोलुङे पुलबाट प्रहरी उठाएर लाइफलाइन अस्पताल पुर्याइएका गुरुङलाई बिर्तामोड स्थित वीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । गुरुङ चुलाचुली क्षेत्रका युवाहरूसँग झगडा गर्न त्यसतर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
गुरुङको हात र खुट्टामा गहिरो चोट लागेको घटनास्थलमा पुगेका शरणार्थी सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी सुरक्षा वेश बेलडाँगीले जानकारी दिएको छ । मृतक गुरुङको श्रीमती र एक जना छोरा रहेको उनको छिमेकीले जानकारी दिएका छन् ।












































































