धरान : तिसको दशक सम्म काठमाडौँ बाहिरका कवि, साहित्यकार नेपाली कवि, लेखकको रूपमा चिनिँदैन थियो । काठमाण्डौनै नेपाल थियो । त्यो स्थितिलाई ‘काठमाण्डौवाद’को संज्ञा दिदैं धरानका जुझारु युवाकविहरुले साहित्यिक आन्दोलन सुरु गरे । युवा साहित्यिक जमातले त्यसको अगुवाइ गरेका थियो ।
पछिल्लो पुस्ताले खोजीनिती नगरेको धरानको साहित्यिक इतिहास र पछिल्लो पुस्ताका गतिविधिबारे आइतबार सार्थक संवाद भएको छ । धरान–१३ वडा सभा हलमा भएको यस्तो किसिमको अनौपचारिक छलफल विषय र प्रसङ्गले पहिलो हो । धराने कवि पूर्व प्रशासक चन्द्र घिमिरेले राखेको यस्तो छलफलको चासोलाई नाटककार, कवि गोपाल देवानले सहजीकरण गरेका हुन् । वडाध्यक्ष नेत्र काफ्लेले स्थान दिएपछि संवाद सम्भव भएको हो ।
‘काठमाडौँवाद’ विरुद्धको आन्दोलन परिणाममुखी बन्यो । काठमाण्डौका प्रसिद्ध साहित्यकारहरूको संस्था सृजनशील साहित्य समाज (सिसास)ले राजधानीमा धरानका कविहरूलाई निम्ता गरेर सिसास–धरान कवि गोष्ठीको आयोजना गर्यो । युवा साहित्यक जमातले केदारमान व्यथित, तुलसी दिवस साहित्य दर्जन काठमाण्डौका कविहरू निम्त्याएर धरानमा युसाज–सिसास कवि गोष्ठी गर्यो । ‘त्यसैले नयाँ अवस्था ल्याएको’ छलफलमा हर्ष सुब्बाले बताए ।
समालोचक प्रा.डा.गोपाल भण्डारीले धरानमा पहिलो पटक २००३ सालमा भानु जयन्ती मनाएको खोज आफूले गरेको बताए । कवि हरिभक्त कटुवाललाई धरानमा देखेको सम्झना, भवानी घिमिरेको घण्टौँ लामो साहित्यिक कुराकानी, शनिवारे साहित्यिक समूहका रोचक संस्मरण, भाषा शास्त्री महानन्द सापकोटा पुरस्कारका कुराहरू सुनाउँदै उनले भने ‘नयाँ र पुराना पुस्ता बिच सम्बन्ध टाढिए इतिहासका कुरा हस्तान्तरण हुन्न ।’
कवि बम देवानले पछिल्लो कालखण्डमा लेखक, साहित्यकारमा स्वप्रचार बढेको बताउँदै भने ‘पैसावाल साहित्यकारहरू पैसा खर्चेर आफूले लेखेका कुराहरूको समीक्षा, समालोचना प्रचारमा ल्याउने चलन बढेको छ ।’ कवि, लेखकको पुरानो परम्परागत छवि अहिले फेरिएको, हुनेखाने पदमा बसेकाहरू कवि, लेखक, साहित्यकारलाई पगरी गुथेर प्रचार गर्ने प्रवृत्ति बढेको उनको भनाई थियो ।
कवि भीष्म काफ्लेको भनाई थियो ‘राजनीतिक परिवर्तन सँगै सञ्चारको क्षेत्रमा युगान्तकारी बदलाव आएको छ ।’ तर इतिहास भनेको परिवर्तन हुदैन् । डिजीटलाइज सुविधाको पहुँचले पुस्तान्तरणमा भिन्नता आए पनि इतिहास त्यसको मापन गर्ने आधार हो । पत्र मित्रता क्लबको जमाना देखी फेसबुक ग्रुपको युगसम्म आउँदा सोच र चिन्तन प्रभावित भएको उनले बताए ।
कलरवका अगुवा युवा कवि सुदिप पाख्रिनले पछिल्लो पुस्ताका कवि साहित्यकारहरूमा सृजनशीलताका नयाँ सोच प्रभावशाली बनेको अनुभव सुनाए । कविता मञ्चन, चित्रकारितामा कविताको सिर्जना, प्राकृतिक भूगोलमा स्थलगत कविता लेखन जस्ता नयाँ आयामका कामहरू कलरवले गर्दै आएको जानकारी दिए । परम्परागत शैली र स्वरूपबाट अलग काम गर्ने रुचि नयाँ पुस्तामा रहेको उनको भनाई छ ।
छलफलमा प्रकट अनुभवहरूको संश्लेष गर्दै चन्द्र घिमिरेले भने ‘नलेखिएका इतिहासको श्रोत पुराना पुस्ता हुन । उहाँहरू रहँदा नै धरानको साहित्यिक इतिहास लेखिनु पर्ने आवश्यकता देखियो ।’ उनले नेपाली साहित्यको समृद्धिका लागि नेपालका मौलिक भाषाहरू, विविध समुदायका संस्कृति, परम्पराहरूलाई साहित्यमा समावेशी बनाउन जरुरी भएकोमा जोड दिए । विश्व साहित्य त्यसरी नै निर्माण भएको छ । अङ्ग्रेजी भाषा त्यसै विश्व भाषा बनेको होइन भन्ने उनको भनाई थियो ।
छलफलमा विमल गुरुङ पुस्तकालयका संस्थापक सञ्चालक पूर्णबहादुर गुरुङले पुस्तकालयको साहित्यिक गतिविधि, पुरस्कारहरूका बारेमा जानकारी दिए । छलफलमा वीरेन सुब्बाले कलरवका गतिविधिलाई डिजिटल माध्यममा प्रकाशन प्रसारण गर्दै आएको बताए । छलफलले धरानमा साहित्यिक पुस्तक प्रकाशन संस्था स्थापना गर्न जरुरी भएको निष्कर्ष निकालेको छ । कार्यक्रममा चर्चित युवा कवि चन्द्र गुरुङ कवि अभागी कान्छा, गोपाल श्रेष्ठ ‘प्रयास’ लगायतको सहभागिता थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
         
        
















 
         
        

















































 
         
         
        