धरान : धरान उपमहानगरपालिकाको ११ औँ नगरसभा विविध निर्णयहरू पारित गर्दै बिहीबार सम्पन्न भएको छ । 

गएको असार १० गते उद्घाटन भएर स्थगित भएको नगरसभा असार २३ गते बिहीबार दिउसो १ बजेलाई तोकिएको थियो । बिहान कार्यपालिका बैठकमा निकै चर्काचर्की भएको थियो । मेयर र उपमेयरको छुट्टाछुट्टै कोष सञ्चालन गर्ने विषयमा निकै विवाद भएको थियो । निकै लामो रस्साकस्सी पछि मेयर र उपमेयरको छुट्टाछुट्टै कोष नभएर मेयर/उपमेयर नामको एउटै कोषमा १ करोड ७० लाख रहने र त्यसलाई नगरसभामा पेस गर्ने सहमति भएको थियो ।

निर्धारित समय भन्दा झन्डै २ घण्टा ढिलो गरी सुरु भएको नगरसभामा वडाका बजेट, विभिन्न उपसमितिका प्रतिवेदन माथि छलफल भएर पास भएका थिए । त्यस पछि सहमतीय प्रणालीमा नगरसभाबाट गठन गर्नुपर्ने समितिहरूको नाम प्रस्ताव गर्न सदस्यहरूलाई समय दिइएको थियो ।

४३ जना सदस्य नगरसभाबाट यसरी बाहिरिए :

नगरसभामा अर्थ तथा सार्वजनिक लेखा समितिमा ५ सदस्यीय र  विधायन समितिमा ५ सदस्यीय रहने भएकोले सो समितिमा नाम सिफारिस गर्न समय दिइएको थियो । यसैगरी न्यायिक समितिमा २ सदस्यको नाम सहमतीय प्रणालीमा सिफारिस गर्न भनिएको थियो । यो क्रममा नेकपा एमालेबाट सबै समितिमा आफ्नो मात्रै मान्छेको नाम सिफारिस गरियो । ती समितिमा समावेशी सहभागिता हुनुपर्ने भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सदस्यहरूले पनि सदस्यको नाम सिफारिस गरेका थिए । समितिको सदस्यका लागि सहमति गर्न भनिएकोमा नेकपा एमाले र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सदस्यहरू बिच छुट्टाछुट्टै समूहमा विभाजन भएर सभा हलमा बसेका थिए ।

सहमतीय प्रणालीमा समिति गठन हुन नसकेपछि नेकपा एमाले समूह बाहेक ४३ जना सदस्यहरू हल देखि बाहिरिएका थिए । नगरसभाबाट बाहिरिनु पूर्व धरान ३ का वडासदस्य नेपाली काँग्रेसबाट निर्वाचित मनिष खड्गीले एमाले पार्टीको दम्भले धरानको विकास हुन नसकेको भन्दै दु:ख व्यक्त गरेका थिए ।

यसैगरी धरान ३ का वडासदस्य नेकपा माओवादी केन्द्रका मिङमा भोटेले पनि धरानमा विकास हुन नसक्नुको मुख्य कारण नेकपा एमालेको कारण भएको बताउँदै आफ्नो समूहबाट सिफारिस गरिएका सबै नाम फिर्ता लिएको घोषणा गर्दै एमालेलाई धराने जनताले मुल्याङकन गर्ने भन्दै उनी बाहिरिए पछि ४३ जना सदस्यहरू नगरसभा नसकी बाहिरिएका थिए । 

बाहिरिनेमा धरान-१ का ५ जना सदस्य, धरान-२ बाट ३ जना, धरान-३ बाट ५ जना, धरान-६ बाट १ जना, धरान-७ बाट २ जना, धरान-९ बाट ५ जना, धरान-११ बाट १ जना, धरान-१४ बाट २ जना, धरान-१६ बाट ५ जना, धरान-१७ बाट ५ जना, धरान-१८ बाट ५ जना र धरान-२० बाट ४ जना गरी ४३ जना सदस्यले नगरसभा बहिस्कार गरेका थिए । 

४३ जनाले बहिस्कार गरे पनि तीन समितिले पायो पूर्णता : 

अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति र न्यायिक समितिको सदस्यमा सहमति हुन नसके पछि ४३ जना सदस्य बाहिरिए पनि यी समितिले पूर्णता पाएको छ ।

अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा ब्रम्हाज्ञ भट्टराई, सदस्यहरूमा राजेशराज मोक्तान, झुमादेवी गुरुङ, पञ्चमी राई र सम्सेर बर्देवा रहेका छन् । यसैगरी विधायन समितिको संयोजकमा कृष्णबहादुर राई, सदस्यमा राजेन्द्र न्यौपाने, विजय राई, तारा तामाङ गोले र डे कुमारी विक रहेका छन् । 

यसैगरी न्यायिक समितिको दुई सदस्य थप गर्नुपर्नेमा चुनूँ थापा र झरना पौडेल मुखिया चयन भएका छन् । ४३ जना सदस्य बाहिरिए पनि नेकपा एमाले र राप्रपाका सदस्यहरूको बहुमत पुगेकोले मेयर हर्क साम्पाङले समितिको सदस्यहरूको नाम घोषणा गरेका थिए ।  

धरान उपमहानगरपालिकाको एघारौ नगरसभामा अर्थ तथा लेखा समिति र बिधायन समिति गठन प्रकृियामा असहमति जनाउदै ४३ जना सदस्य यसरी नगरसभाबाट बाहिरिएका थिए