सुनसरी : धरान फुटबल क्लब र गोधुली क्लब सुनसरी जिल्ला स्तरीय 'ए' डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन्। इटहरी रङ्गशालामा आज बिहीबार सम्पन्न सेमिफाइनल खेलहरूमा जित निकाल्दै दुई धराने क्लबले उपाधि भिडन्त पक्का गरेका हुन।

लिग अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले बराहक्षेत्रको न्यू स्टार क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ७ औँ मिनेटमा न्यू स्टारका सन्तोष श्रेष्ठले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए। धरानका सरोज राईले २७ औँ मिनेटमा गोल फर्काएपछि खेल एक-एक को बराबरीमा आयो। त्यसको एघार मिनेटपछि धरानका विवेक टेम्बेले एक गोल गरी धरानलाई २-१ को अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा विवेकले नै पेनाल्टी मार्फत थप एक गोल गरेपछि धरानले न्यू स्टार माथि सहज जित हात पार्‍यो । उक्त खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल विवेक नै घोषित भए। उनलाई राष्ट्रिय जागृति क्लबका पूर्व अध्यक्ष ईश्वरी पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे।

बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धरानकै गोधुली क्लबले राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। निर्धारित समय र त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

राष्ट्रिय जागृतिका लागि सुमित चौधरी र निकेश तामाङले मात्र गोल गर्न सफल भए भने स्मित तामाङको प्रहार गोल गोलपोष्टमा लागेर बाहिरिएको थियो। रञ्जन कटुवालको प्रहार गोधुलीका गोलकिपरले विफल बनाएका थिए । गोधुलीका महेन्द्र बिष्ट, बबिन थापा, मार्टिन राई र अमृत राईको प्रहार गोलमा परिणत भएको थियो।

उक्त खेलको म्यान अफ द म्याच गोधुलीका निमा शेर्पा घोषित भए। उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना र महाधिवेशन प्रतिनिधि महेश बास्तोलाले नगद १ हजार ५ सय र मेडल प्रदान गरे। अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ। फाइनल विजेताले नगद ५० हजार पाउँदा उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।