चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका भित्रका विद्यालय, क्याम्पस तथा धार्मिक स्थलको ५ सय मिटर वरपर धूम्रपान तथा मदिरा बिक्री वितरण गर्न निषेध गरिएको छ।

वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर र महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालको साझेदारीमा लागूपदार्थ दुर्व्यर्सनीलाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यले विद्यालय तथा धार्मिक स्थलको ५ सय मिटर वरपर चुरोट, मदिराजन्य पदार्थ, खैनी, गुट्खा जस्ता बस्तुहरूलाई बिक्री वितरण निषेधित क्षेत्र घोषणा गरिएको हो।

बिहीबार नगरपालिकाको धार्मिक क्षेत्र चतरामा एक औपचारिक कार्यक्रम आयोजना गरी नगर प्रमुख निलम खनालले सूचना पार्टी अनावरण गरेर धूम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा गरेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजयसिह थापा लगायत वराहक्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षकहरू, बिद्यार्थीहरु, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

निषेधित क्षेत्र घोषणा पछि बिद्यार्थीहरुले लागूपदार्थ न्यूनीकरण गरौँ भन्दै नारा लगाएका थिए । वराहक्षेत्र नगरपालिकाका ८ वटा सामुदायिक विद्यालय, १ संस्थागत विद्यालय र धार्मिक विद्यालयका बिद्यार्थीहरुले प्रभात फेरी समेत गरेका थिए । वराहक्षेत्र २ पुनर्वास स्थित आदर्श माध्यमिक विद्यालयबाट सुरु प्रभात फेरी हाटखोला, जागृत चौक, मिलन टोल, वयरबन हुँदै बसपार्कमा कोण सभामा परिणत भएको थियो ।

वडा नं २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कोण सभामा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद भट्टराई, वडा नं ९ का वडाध्यक्ष दीपक लिम्बू, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख संजयसिह थापा, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव र वराहक्षेत्र नगर प्रमुख निलम खनालले बोलेका थिए ।

कोण सभामा आदर्श माध्यमिक विद्यालयका बिद्यार्थीहरुले लागूपदार्थ दुब्यसनी र लैङ्गिक हिंसा बिरुद्धको चेतनामूलक सडक नाटक समेत प्रस्तुति गरेका थिए।

baraha-nisedh