झापा : झापा सहित प्रदेश १ का १४ वटै जिल्लाको माटोमा पछिल्लो समय अम्लपनको मात्रा बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख तथा माटो विज्ञ हरिबहादुर भुजेल झापाको माटोमा अम्लीयपनको मात्रा बर्षेनी बढ्दै गएको बताउँछन्।

प्रयोगशालाको रिपोर्टले झापाको माटोमा प्राङ्गारिक पदार्थको मात्रा पनि अत्यधिक घट्दै गएको देखाएको माटो विज्ञ भुजेलको भनाइ छ । प्रत्येक वर्ष माटोमा बढ्दै गएको अम्लीयपनले उर्वराशक्ति घट्दै गएको माटो तथा मल परीक्षण प्रयोगशालाको भनाइ छ। अम्लीयपनले माटो बिग्रिँदै गएको र उत्पादनमा कमी आएको छ । प्राङ्गारिक मलको मात्रा बढाएर माटोलाई बिग्रिनबाट जोगाउन सकिने सुझाव छ माटो विज्ञ हरिबहादुर भुजेलको।

प्रयोगशालाका माटो विज्ञ हरिबहादुर भुजेल माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण रासायनिक मलको बढ्दो प्रयोग भएको बताउँछन् । बस्तु पाल्ने र गोबर मल हाल्ने चलन नै हराइसकेको भन्दै उनी किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग ज्यादा हुनाले माटो बिग्रिरहेको बताउँछन् । झापामा मात्र नभई प्रदेश १ का १४ वटै जिल्लामा माटोमा अम्लीयपन बढ्दै गएको भुजेलको भनाइ छ । उर्वराशक्ति बढाउने नाममा रासायनिक मलको प्रयोगले माटोलाई गम्भीर असर गरिरहेको तर यसप्रति कसैले चासो नदिएको उनी बताउँछन् ।

अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउन माटो विज्ञ भुजेलले सुझाव दिएका छन् । सिजनअनुसार धान, गहुँ रोपेपछि, तरकारी, फलफूल, कोसेबाली लगाउनुपर्ने उनको सुझाव छ। “मास, मुग दालजस्ता बाली लगाउनाले जमिन उर्वर हुने र त्यस्ता बालीले माटोको अम्लीयपन घटाउन मद्दत गर्छ । मानिसलाई खानाको जति आवश्यक पर्छ बिरुवाका लागि त्यति नै आवश्यक तत्त्व माटोमा हुन्छ । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिन्छ । हाम्रो शरीरको बेला बेला हामीले परीक्षण गरेजस्तै माटोको पनि परीक्षण अनिवार्य छ । भुजेलले भने । ”

बालीअनुसार अम्लीय आवश्यकताको मात्रा फरक हुने भुजेलले बताए। अम्लीयपन बढे उत्पादन स्वतः घट्ने उनले बताए । अम्लीयपनको मात्रा यसरी नै बढे तरकारी, फलफूल लगायत बाली उत्पादन केही वर्षमै शून्यमा झर्ने स्थिति रहेको माटो विज्ञको चेतावनी रहेको छ । जमिन ५ दशमलव ५ देखि ६ दशमलव ५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । ४ दशमलव ५ देखि ५ दशमलव ६ सम्म हुँदा चिया खेती गर्न सकिन्छ । तर, ५ दशमलव ५ देखि तल झरेपछि क्रमशः उत्पादन घट्दै जाने र माटो सुधार्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ।

पूर्वका ६० देखि ६५ प्रतिशत जमिनका माटो अम्लीय रहेको प्राविधिकहरूले जनाएका छन् । अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका पूर्वी तराईका करिब ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन वा एसिड बढ्दै गएको क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले जानकारी दिएको छ । माटोमा अम्ल वर्षौँदेखि क्रमशः बढ्दै गएको माटो परीक्षण प्रयोगशालाका प्राविधिकहरूले बताएका छन् । माटोमा अम्ल बढ्नाले उत्पादनमा ह्रास आउने कृषि विज्ञहरू बताउँछन् ।

mato-amliya-12