आज पुष १५ गते अर्थात् गुरुङ जातिहरूको महान् चाड तमु ल्होसार आज मनाइँदै छ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते 'तमु ल्होसार' पर्व मनाउने गर्छन्। 'ल्हो' को अर्थ वर्ष र 'सार' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो विक्रम संवतका अनुसार पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन रहेको छ। तमु ल्होसारले गुरूङ् समुदायको भित्ते पात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ।

हिजो देखि साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिएको थियो। ल्होसारको दिन बिहानदेखि नै ढोग भेट गरी नाता कुटुम्बहरूलाई बोलाएर भोज खुवाएर अत्यन्तै धूमधामका साथ यस पर्वलाई मनाइँदै छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड र पटुकी बाँध्ने गर्छन्।