चतरा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको राष्ट्रिय कार्यक्रम गरिब परिबार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि गणक नियुक्ति गर्दा वराहक्षेत्र नगरपालिकाले राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिएको पाईएको छ।

सङ्घीय सरकारको कार्यक्रमको रूपमा रहेको उक्त गरिब परिबार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको स्थानीय सरकारले गणक र सुपरिवेक्षक नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको थियो। सङ्घीय सरकारको पत्राचार अनुसार भएको मङ्सिर १२ गते कर्मचारीकोलागि विज्ञापन निकालेको थियो । नगरपालिकाभित्र गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि २ जना सुपरिवेक्षक र १४ जना गणक पदका कर्मचारी आह्वान गरेको थियो ।

नगरपालिकाका अनुसार गणकलागि आवश्यक योग्यता पुगेका इच्छुकहरूले १५ दिनभित्र ९० जनाले दरखास्त पेस गरेका थिए। ५ जनाको आवश्यक कागजात नपुगेर दर्खास्त फाराम अस्वीकृत गरिएको थियो ।

आवेदन दिएका इच्छुक उमेदवारहरुबाट अन्तरवार्ता तथा प्रयोगात्मक परीक्षा लिएर २ सुपरिवेक्षक र १४ गणक छनौट भएको नामावली प्रकाशन भयो। तर उक्त नगरपालिकाले छनौट गरेर सार्वजनिक गरेको नामको विषयमा विरोध हुन थालेको छ। सामाजिक सञ्जालदेखि लिएर नगरपालिकामै छनोटको विषयमा असन्तुष्ट जनाउँदै निवेदन समेत परेको छ। नगरपालिकाले योग्य, अनुभवीलाई भन्दा जनप्रतिनिधिले नजिकको मान्छे र आफन्तलाई नियुक्ति गरेको आरोप लगाएका छन् ।

नगरपालिकाले छनौट गरेको नाममा विरोध भए पछि नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले छानबिन र निर्णय पुनरावलोकन गर्न माग गरेको छ। नगरपालिकामा पुगेर नगर सभापति रमेश कार्कीले नगरपालिकाको कर्मचारी नियुक्तिमा राजनीति भर्ती केन्द्र बनाउन खोजेको आरोप समेत लगाएका छन् । उनले गणक नियुक्तको अवस्था हेर्दा नगरपालिकाले राम्रोलागि भन्दा पनि हाम्रो मान्छेलाई प्राथमिकता गरेको देखिएको आरोप लगाए। उनले नियुक्ति प्रक्रियालाई स्थगित गर्न आग्रह गरे।

छनोट प्रक्रियामा सहभागी वराहक्षेत्र ७ का शेखर श्रेष्ठले क्षमता हुँदाहुँदै पनि नगरपालिकाले आफ्ना र आसेपासेलाई मात्र छनौट गरेको आरोप लगाए । उनले नियुक्ति गरिएका नाममा विमति जनाउँदै नगरपालिकामा निवेदन समेत दिएका छन् । नगरपालिकामा नातावाद र कृपावाद हाबी भएको र कम्प्युटर चलाउने ज्ञान नै नभएकालागि नियुक्ति गरेको उनले आरोप लगाए ।