झापा : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि दुई जनामा पुष्टि भइसकेको छ। यसले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू अझ बढी त्रास फैलाएको छ।
लामो सयम कोभिडका कारण शिथिल बनेको नागरिकको दैनिकी बिस्तारै सहजता तर्फ उन्मुख थियो । कोभिडको सङ्क्रमण कम हुँदै गएपछि नागरिकको दैनिकी पुरानै लयमा फर्कँदै गएको थियो। तर, पुनः नयाँ सङ्क्रमण देखिएपछि आम नागरिक त्राहिमामको अवस्थामा पुगेका छन् भने कतिपयहरू आफ्नो व्यवसायबाट पलायन समेत भएका छन्।
झापामापनि यही समस्या देखिएको छ। भारतसँग १४४ किमी खुल्ला सीमा रहेको यहाँ भारतमा पनि ओमिक्रोनका सङ्क्रमित धमाधम भेटिन थालेपनि थप त्रास उत्पन्न भइरहेको छ। त्रासलाई कम गर्न र ओमिक्रोनको सङ्क्रमण झापामा आउन नदिन झापा प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको दाबी गरेको छ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने भन्छन्, “हामीले विशेष गरी सीमामा उच्च सतर्कता अपनाएका छौँ । कोभिड व्यवस्थापन समितिको बैठक बसेर सबै निकायलाई सतर्क रहन आग्रह गरिसकेका छौँ । स्थानीय पालिकाहरूसँग सहकार्य गर्दै कोरोनाको नयाँ भेरियन्ट झापा भित्रन नदिन विशेष सतर्कता अपनाएका छौँ । यसमा नागरिककै साथ र सहयोग अनि सतर्कताको पनि खाँचो छ।”
यस्तै झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले भारत लगायत तेस्रो देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गर्न थालिएको बताए। विशेष गरी पूर्वी नाका काँकडभिट्टामा हेल्पडेस्क नै खडा गर्दै नेपाल प्रवेश गर्ने नागरिको स्वास्थ्य परीक्षण गर्न सुरु गरिसकेको उनले सुनाए।
प्रहरी प्रमुख भट्टराईले भने, भारत तथा पूर्वी नाका हुँदै आउने सबैको स्वास्थ्य परीक्षण पछि मात्रै नेपाल प्रवेश गर्न दिएका छौँ । नाकामा अहिले हामीले व्यापक कडाइ गरेका छौँ ।” भट्टराईले भने, “पश्चिम बङ्गाल र विहार राज्यसँग १४४ किलोमिटर खुल्ला सीमा जोडिएको झापामा त्यसै पनि उच्च जोखिम छ नै। तथापि कोभिडको नयाँ भेरियन्ट भित्रन नदिन सबै नागरिक, सबै तह र तप्का जागरूक बन्नु पर्छ। तब मात्र हामी सुरक्षित रहन सक्ने छौँ।”



































































