धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १२ इन्च लामो फलामको रड छिरेर घाइते भएका कोरोना सङ्क्रमितको सफलतापूर्वक शल्यक्रिया भएको छ ।
प्रतिष्ठानले ढिलो गरी दिएको जानकारी अनुसार जेठ ११ गते राति ७ बजे देखि ११ बजे सम्ममा सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । झापाका ३८ वर्षीय एक पुरुषको घरको भित्ता प्लास्टर गर्दा गर्दै माथिबाट झर्दा छातीको देब्रे पट्टीको कोखाबाट १२ इन्चको फलामको रड ३० सेमी जति भित्र छिरेको थियो ।
उनको जेनेरल सर्जरी विभागका डा. सुरेश प्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल, कार्डियो थोरासिक भास्कुलर सर्जन डा. विजय श्रेष्ठ, डा. पवन सापकोटा, एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल, नर्सहरू जानकी चौधरी, गीता राई, ओटी टक्निसियन रञ्जन पाठक, हेल्पर दलबहादुर खडका लगायतको टिमले सो शल्यक्रिया गरेका थिए ।
उनको छातीमा छिरेको फलामको रडले देब्रे पट्टीको करङलाई छेडी फोक्सोको तल्लो भागमा चोट पुर्याएको थियो । मुटुको पेरिकार्डियममा समेत चोट पुर्याएको थियो । शल्यक्रियाबाट रड निकालिनुका साथै फोक्सो र मुटुमा लागेको चोटको पनि उपचार गरिएको थियो ।
शल्यक्रिया पश्चात् कोभिड अस्पतालको आइसियुमा भर्ना गरी बाँकी उपचार गरिएको थियो । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार सँगै उनमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि सर्जरी वार्डमा केही दिन उपचार गरी जेठ २२ गते प्रतिष्ठानले डिस्चार्ज दिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणी पोखरेलले जानकारी दिएका छन् ।










































































