नेपालगन्ज : नेपालगन्जमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा सुरक्षा समितिको बैठक बसेको छ ।

बैठकले नेपालगन्जको पछिल्लो परिस्थितिको गम्भीरतालाई बुझेर सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आ–आफ्नो तर्फ सक्दो सहयोगी बन्न आग्रह गरेको छ । नेपालगन्जमा कोरोना भाइरसको सख्या उकालो लागेर नेपालको इपिसेन्टर बन्ने निश्चित भएपछि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल सहितको आइतबार बसेको बैठकले नेपालगन्जमा लकडाउनका साथै ३ दिन निषेधाज्ञा जारी गरेको थियो ।

Nepalgunj

मङ्गलवार बिहान ११ बजेबाट निषेधाज्ञा लागु हुने र नेपालगन्जका मुख्य सब्जी मन्डी रानी तलाउ, बिपी चौक र धम्बोजीमा सब्जीमण्डी पूर्णरुपमा बन्द गर्ने आइतबार बसेको बैठकले निर्णय गरी सार्वजनिक सूचना जारी गरिएको थियो ।

उक्त सूचनाको बर्खिलाप सब्जीमण्डीमा भिडभाड जम्मा भएको मङ्गलवार बिहानै एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेपछि गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई फोन गरी लकडाउन र सामाजिक दुरी कडाइका साथ पालना गराउन आदेश दिएको थियो ।

Nepalgunj-2

उक्त पोनपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतलाई फोन गरी मिडियामा आएको समाचार र गृहको फोनको जानकारी गराउँदै लकडाउन कार्यान्वयन गराउन आदेश दिएका थिए ।

उक्त आदेश पछि वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सब्जीमण्डी तर्फ टिम लिएर गएका थिए । सब्जी मण्डीमा मङ्गलवार ११ बजे पछि ३ दिन घर भित्र बस्ने सूचना जारी भएको भन्दै मानिसहरू तरकारी किन्न खचाखच भिड भएको थियो । उक्त भिड तितरबितर गर्न वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सहितको टोलीले सामान्य बल प्रयोग गर्नुपरेको थियो ।

उक्त ठाउँमा हलका लाठी खाएका व्यक्तिहरू धपाएपछि नगरको परिक्रमा गरेर लकडाउनको कार्यान्वयन गराउन हिँडेको उक्त प्रहरी टोली नेपालगन्जको पुरानो सिनेमा हल अगाडी पुगेपछि नेपाली काँग्रेसका पूर्व सांसद कैलाश नाथ कसौंधन गुप्ताको भाइका छोरा सहितको केही समूह घर अगाडी बाहिर बाटो छेउमा रहेको समयमा प्रहरीले घर भित्र बस्न र पसल बन्द गर्न भनेपछि ११ बजेपछि निषेधाज्ञा भएको र ११ बजे सम्म पसल खोल्न पाउनु पर्ने विषयमा विवाद भएको र सोही क्रममा विवाद पछि प्रहरीले लाठी चार्ज गरेर १ जनालाई पक्राउ गरेको थियो ।

उक्त घटना सेलाउन नपाउँदै अर्को प्रहरीको गाडी सोही बाटो भएर घर भित्र बस्न माइकिङबाट आग्रह गर्दै आएकोमा पहिले नै प्रहरीसँग झडप गरिसकेका व्यक्तिहरू थप एकीकृत भएर प्रहरीको गाडीमा इट्टा प्रहार गरेर प्रहरीको गाडीमा क्षति पुर्‍याएका थिए । घटनाको केही समयपछि सामान्य अवस्थामा आएको र १ जना युवकलाई वडा प्रहरी कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको नेपालगन्ज प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जमा तीन दिन निषेधाज्ञा
स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई मङ्गलवार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णपुरले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

Nepalgunj-1

निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब सङ्कलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्ति बाहेक अन्यलाई आवागमनमा पूर्णपुरमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानुनी कारबाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको नेपालगन्जका पत्रकार गोपी बुढाले जानकारी दिएका छन् ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएको पत्रकार बुढाले बताएका छन् ।

नेपालगन्जमा शुक्रवार, आइतबार र मङ्गलवार गरी २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
                                                       -नेपालगन्जका संचारकर्मी गोपी बुढा र समीर श्रेष्ठको सहयोगमा