धरान : झापा स्थित नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
सय बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले हवाई फायर गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
झापा गाउँपालिका-४ स्थित सुकुम्वासी बस्ती नजिकै हिजो बेलुका ५ बजे सो घटना भएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिकको समूहलाई खेदाउन हवाई फायर गर्नु परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
उनका अनुसार दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ देखि दुई सय गाउँले भेला गरी पुनः सीमा क्षेत्रमा लिएर आएका थिए ।
घरेलु हातहतियार सहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्ट माथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सशस्त्रले हवाई फायर गरेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । भारतीय नागरिकहरू नेपाल तिरको जमिनमा खेती गर्ने र उनीहरू आउजाउ गर्ने गरेको बताइएको छ । अहिले सो क्षेत्रमा सुरक्षा अवस्था अत्यन्त कडा पारिएको छ ।








































































