इटहरी : अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले पुर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको झन्डै डेढ महिनादेखि भागेका सिद्धबाबा भनिने कृष्ण बहादुर गिरी पुर्पक्षका मङ्गलवार लागि कारागार चलान भएका छन् ।
सिद्धबाबालाई जिल्ला अदालत सुनसरीमा चल्दै गरेको 'केश'लाई सोही अदालतले थुनछेक बहस सक्किएपछी धरौटी खुलाएर छोडेको थियो । मङ्सिर १६ गते जिल्ला अदालतले प्रचलित कानुन अनुसारको गम्भीर प्रकृतिको मुद्दामा तीन लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेश बिरुद्द सुनसरीको सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गर्न पुगेको थियो ।
उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरेर माघ ९ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । पुनरावेदन पछि जिल्लाको आदेश उच्च अदालतले उल्ट्याएर पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिए पनि सिद्धबाबा 'फरार' थिए ।
जिल्ला अदालत सुनसरीमा म्याद अभियुक्त थाम्न आफै आउनु परेकाले सिद्धबाबा आत्मसमर्पण गर्दै आफै आएका देखिन्छन् । उपस्थित भएर कारागार नबसेका भए गरिएको उनि बिरुद्द अदालतले सहजै निर्णय गर्न सक्ने हुन्थ्यो ।
अदालतमा उपस्थित भएका गिरीले भने आफू उपचारकोलागि भारतको राजस्थान गएको प्रतिक्रिया दिएका थिए । उनले कानुनको सम्मान गर्दै अदालतमा उपस्थित भएर न्यायको लागि लड्ने बताए ।
कहिले सम्म आउला अन्तिम निर्णय
माघ ९ गते उच्च अदालत विराटनगरले पुर्पक्षको लागि आदेश गर्दा फागुन ६ गते सम्म बकपत्र गराउनु पर्ने समय दिएको थियो । फागुन ६ गते सम्म पनि म्याद भए पनि २१ दिन सम्म कानुनतः गुज्रेको म्याद थाम्न पाउने व्यवस्था छ ।
अदालतले सरकारी प्रमाण, पीडित महिला र पीडित महिलाको पति लगायत सँग बकपत्र गराइसकेको छ । त्यसैले अब बकपत्र सकिएपछी अदालतले सुनुवाइको लागि पेसी तोक्ने सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गोकुल निरौलाले जानकारी दिए ।
पेशीमा मुद्दा पुगेपछि सुनुवाइ हुनेछ । सुनुवाइ हुँदा न्यायाधीशले मिसिल र पीडित पक्षको वकिलको बहस सुन्नेछन् । यसरी बिचमा कुनै कानुनी अड्चन नआए मुद्दाको प्रक्रिया एक महिना सम्म टुङ्गिने वकिलहरूको भनाइ छ ।








































































