धरान: आज अंग्रेजी नयाँ बर्ष २०२० को पहिलो दिन अर्थात जनवरी १ । नयाँ बर्षलाई स्वागत गर्न अहिले पुर्वको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा पर्यटकहरुको घुँइचो छ ।
अंग्रेजी नयाँ बर्ष मनाउन भेडेटारमा आन्तरिक मात्र होइन, बाह्य अर्थात भारतीय पर्यटकहरु पनि ठुलो संख्यामा पुगेका छन् । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर नै होटल एशोसिएशन भेडेटारले हिजोदेखि ३ दिने फुड फेस्टिवल शुरुवात गरेको छ । स्थानीय पर्यटन व्यवसायीहरुका अनुसार आज नयाँ बर्ष मनाउन १० हजार भन्दा बढी पर्यटकहरु भडेटारमा पुगेका छन् । ती मध्ये ९० प्रतिशत पर्यटकहरु भारतीय छन् । ‘आन्तरिक पर्यटकहरु पनि छन्, तर आजको दिन भारतबाट आउने पर्यटकहरुको संख्या अत्यधिक छ । ९० प्रतिशत भारतीयहरु छन्,’होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले भने ।

अत्यधिक घुँइचोका कारण केही बेर भेडेटारमा ट्राफिक जामसमेत भएको थियो । भारतको विहार राज्यबाट नयाँ बर्ष मनाउन हरेक बर्ष ठुलो संख्यामा पर्यटकहरु भेडेटार आउने गरेका छन् । पर्यटकहरु पुरानो बर्षलाई विदाई गर्न र नयाँ बर्षलाई स्वागत गर्न हिजो साँझ(न्यु इयर इभ)मा नै भेडेटार गएर बस्ने गरेका छन् । अध्यक्ष रुम्दालीका अनुसार हिजो साँझ भेडेटारका सबै होटल तथा लजको कोठा सतप्रतिशत भरिएको थियो । ‘हिजो कति पहुनाहरुले कोठा नपाएको गुनासो पनि आयो, आज पनि सबै कोठा बुक छन्,’उनले भने ।
जातीय पोशाक लगाए फोटो खिच्न आकर्षण
भेडेटार घुम्न आएका पर्यटकहरुलाई प्रकृति र गन्तव्यहरु मुख्य आकर्षण छदैछ, अहिले भेडेटार होटल एशोसिएशनले राखेको विभिन्न जातीय पोशाक पनि थप आकर्षण भएको छ । होटल एशोसिएशन र धरान उपमहानगरपालिकाको साझेदारीमा गत आर्थिक बर्षमा विभिन्न जातीय पोशाक किनिएको थियो ।
अहिले भेडेटार आउने पर्यटकहरु तिनै जातीय पोशाक लगाएर आफ्नो फोटो खिच्ने गरेका छन् । भेडेटारमा नेपाली राष्ट्रिय पोशकसँगै शेर्पा, मगर, गुरुङ, नेवार, राई र लिम्बू जातिको मौलिक साँस्कृतिक पहिरन राखिएको छ । ती जातीय पोशाकहरु महिला र पुरुष दुवैको छ भने साना नानीहरुको पनि छ । ‘अहिले यो जातीय पोशाक लगाएर फोटो खिचाउने पर्यटकहरुको संख्या बढ्दै गएको छ,’अध्यक्ष रुम्दालीले भने । उनका अनुसार गत बर्ष धरान उपमहानगरले दिएको २ लाख र एशोसिएशनको थप डेढ लाख लगानीबाट यो जातीय पहिरनहरु खरीद गरिएको हो ।









































































