धरान: १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालको लागि पदक जित्ने तेक्वान्दोका ४ खेलाडीलाई मंगलबार धरानमा सम्मान गरिएको छ ।

पदक जित्ने सबै महिला खेलाडी हुन् । चार जनामध्ये ३ स्वर्ण र २ कास्यसहित तेक्वान्दोमा कुल ५ पदक जितेका छन् । पदक विजेताहरुलाई धरान तेक्वान्दो डोजाङले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा स्वर्ण पदक विजेता सिना मादेन लिम्बु, स्वास्तिका तामाङ र निता गुरुङ रहेका छन् । सिनाले एक स्वर्णसँगै कास्य पदक पनि जितेकी छिन् । यस्तै, युनिसा राईले कास्य पदक जितेकी छिन् ।

5 1

पदक विजेता खेलाडीहरुलाई डोजाङका अध्यक्ष एवं तेक्वान्दोका भोलेन्टियर प्रशिक्षक गोपाल राई, कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य किरण राई, विशिष्ट अतिथि एवं एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष किसोर राईलगायतले अबीर, खादाका साथै सम्मान पत्र प्रदान गरेका थिए । साथै, पदक विजेता खेलाडीहरुको अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

एन्फा मानार्थ उपाध्यक्षद्धारा नगद प्रदान

धरान तेक्वान्दो डोजाङले सम्मान पत्रद्धारा खेलाडीहरुलाई सम्मान गरेको थियो भने सोही कार्यक्रमका बिशिष्ट अतिथि एवं एन्फाका मानार्थ उपाध्यक्ष किसोर राईले व्यक्तिगततर्फबाट नगदसहित खेलाडीहरुलाई सम्मान गरेका थिए ।

7 3

उपाध्यक्ष राईले स्वर्ण र कास्य गरी २ वटा पदक विजेता सिना मादेनलाई ५ हजार प्रदान गरे । यस्तै, अन्य ३ जना पदक विजेता खेलाडीहरुलाई जनही नगद ३ हजारको दरले प्रदान गरेका थिए । उपाध्यक्ष राईले सागमा पदक जित्ने धरानका खेलाडीहरुलाई धरान उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस(धरान डे)को अवसरमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको पनि घोषणा गरेका थिए । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी नरेन्द्र लिम्बुले पनि पदक विजेता खेलाडीहरुलाई व्यक्तिगतरुपमा नगदद्धारा सम्मान गर्ने घोषणा गरेका थिए ।

खेलकुदको महत्व बुझाउन आग्रह

सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं संविधान सभाका सदस्य किरण राईले खेलकुदको महत्व सबैलाई बुझाउन आवश्यक रहेको बताए । साथै उनले सागमा पदक जितेर तेक्वान्दोका खेलाडीहरुले धरानको खेलकुदमा क्रान्ति गरेको धारणा व्यक्त गरे । उनले भने,‘खेलाडीहरु सम्मानको हकदार छन्, उनीहरुसँगै अभिभावक र मार्ग दर्शन गर्ने प्रशिक्षकहरुलाई पनि सम्मान गर्नुपर्छ ।’

6 2

एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष राईले अब खेलाडीहरुलाई व्यवसायिक बनाउन जरुरी रहेको धारणा राखे । उनले खेलाडी तथा खेलकुदकर्मीहरुको त्याग, समर्पणको सम्मान सरकारले गर्नुपर्ने बताउदै खेलकुद नीति पनि बनाउन आवश्यक भएको बताए । ‘खेलाडीहरुलाई व्यवसायिक र रोजगारमुखी बनाउनुपर्छ, त्यसको लागि खेलकुद नीति आवश्यक छ,’उनले भने,‘जिल्ला र स्थानीयस्तरमा पनि सम्झौता विना र दाम विना खेलाउन नपाउने नीति आवश्यक छ ।’ उनले सागमा पदक विजेता खेलाडीहरुलाई धरान डेको अवसरमा नगदसहित उपमहानगरपालिकाले पुरस्कृत गर्ने पनि उनले जानकारी दिए ।

धरान तेक्वान्दो डोजाङका अध्यक्ष गोपाल राईले अभिभावकको साथ र खेलाडीहरुको अथक मेहनतले सागमा पदक जितेर देशको र धरानको पनि गौरव बढाएको बताए । उनले धरानमा एक जना पनि सरकारी प्रशिक्षक नभएको र भोलेन्टियर प्रशिक्षककै भरमा तेक्वान्दो खेलाडीहरुले यो सफलता हात पारेको बताए ।

tekwando1 tekwando4