धरान: नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि भएको आक्रमणको चौतर्फी निन्दा भएको छ ।

पत्रकार महासंघ सुनसरीसहित विभिन्न पेशागत संगठन र राजनीतिक दलले पनि विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन् । साथै, दोषीलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरेका छन् । बिहिबार दिउँसो समाचार संकलन गर्न ढिला पुगेको भन्दै पत्रकार काफ्लेलाई सल्लेरी वचत तथा ऋण सहकारीबाट पीडित भनिएका वचतकर्ताहरुले आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार काफ्लेको नाक भाचिएको छ भने आँखामा गम्भीर चोट लागेको छ ।

पत्रकार महासंघ सुनसरीका सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग पनि विज्ञप्तीमा माग गरिएको छ । सचिव दाहालले प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन पनि माग गरेका छन् ।

यस्तै, प्रेस सेन्टर नेपाल सुनसरी र प्रेस चौतारी नेपाल सुनसरीले संयुक्त विज्ञप्ती गर्दै आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणप्रति खेद व्यक्त गर्दै विज्ञप्तीमा घोर भत्र्सना पनि गरिएकोछ । साथै, घटना संलग्न दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न र सञ्चारकर्मीहरुलाई निर्वाध, भयरहित वातावरणमा समाचार संकलन गर्ने अवस्था सृर्जना मार्ग गरिएकोछ ।

यसैगरि, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पनि विज्ञप्ती जारी गर्दै पत्रकार काफ्लेमाथि भएको आक्रमणको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ । नेकपा उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दशन श्रेष्ठले हस्ताक्षरित विज्ञप्तीमा स्वतन्त्र प्रेसको अवधारणालाई चुनौती दिने यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ ।

fnj-sunsari-bigyapti-santos