धरान: पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि आक्रमण गर्ने मुख्य ४ जनाको पहिचान भएको छ ।
प्रहरीका अनुसार पत्रकार काफ्लेमाथि आक्रमण गर्ने मुख्य व्यक्ति धरान १ का ३६ बर्षीय नरेश साही हुन् । उनी सल्लेरी सहकारी पीडित संघर्ष समितिका सदस्य हुन् । यस्तै, संघर्ष समितिका अध्यक्ष रहेका धरान १५ का ३८ बर्षीय तुलसीप्रसाद विक, संघर्ष समितिका सदस्यहरु धरान ४ का ४२ बर्षीय दिपक राई र धरान ४ कै ३५ बर्षीय संगीता राई रहेका छन् ।

आज दिउँसो धरान १२ स्थित सल्लेरी सहकारीको कार्यालयमा उनीहरुले पत्रकार काफ्लेमाथि आक्रमण गरेका हुन् । सल्लेरी वचत सहकारीबाट पीडित भनिएकाहरुले गठन गरेको संघर्ष समितिको समाचार संकलन गर्न ढिला आएको भन्दै पत्रकार काफ्लेमाथि आक्रमण भएको थियो । उनको नाक र आँखामा गम्भीर चोट लागेको छ । आक्रमणकारीहरुले काफ्लेलाई घरबाट नै लिएर सल्लेरीको कार्यालय लगेको पनि खुलेको छ ।
प्रहरीले घटनाभएको स्थानबाट २१ जना बढीलाई नियन्त्रणमा लिएको थियो । घाइते पत्रकार काफ्लेको वयानको आधारमा ४ जनालाई राखेर अन्यलाई भोली उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।









































































