धरान: नेपाली कांग्रेसको नगरसभा होस वा अधिवेशन होस्, केन्द्रीय शीर्ष नेताको आतिथ्यतामा खुला सभा गरेर सकिन्थ्यो । न राजनीतिक, सांगठनिक बहस छलफल हुन्थ्यो, न विकास र समृद्धिको एजेण्डाबारे अवधारणा नै आउथ्यो । त्यसैले कांग्रेस नेता,कार्यकर्ताहरु वैचारिक एवं सांगठनिकरुपमा पनि कमजोर हुदै गएको टिकाटिप्पणी हुने गथ्र्यो ।
यो टिकाटिप्पणीलाई आत्मसाथ गर्दै कांग्रेस धरान उपमहानगर कमिटिले आफुलाई परिमार्जन गर्ने दिशामा अघि बढाएको छ । यसले कांग्रेस धरानका मात्र होइनन्, जिल्लाका नेता, कार्यकर्ताहरुमा उत्साह थपिएको छ । कांग्रेसको यही भदौ २५, २६ र २७ गते तीन दिन धरानमा नगरसभा हुदैछ । यो नगरसभा विगतमा हुदै आएको नगरसभा भन्दा अलग प्रकृतिको हुनेछ । विगतमा जस्तो यो सभा खुला आमसभा आयोजना भएपछि टुंगिनेछैन । २५ गते भानुचोकमा पार्टी सभापति शेरबहादुर देउवासँग शीर्ष नेताहरुले उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् भने थप २ दिन पार्टीको सांगठनिक, राजनैतिक र आर्थिक प्रतिवेदनमाथि सभागृहमा वृहतरुपमा बहस र छलफल हुनेछ ।
यो दुई दिने बन्दसत्रले पार्टीको आगामी कार्यदिशा तथा योजना, चुनावी एजेण्डा मात्र होइन, धरानको विकास र समृद्धिको खाका पनि कोर्ने कांग्रेस नगर सभापति तिलक राईले बताए । ‘बन्दसत्रमा पार्टीको सांगठनिक, राजनैतिक र आर्थिक प्रतिवेदनमाथि वहस, छलफल त हुने नै भयो, आगामी निर्वाचनको लागि कस्तो एजेण्डा र घोषणा पत्र बनाउने हो भन्ने बारेपनि अवधारणा आउनेछ,’सभापति राईले भने,‘विगतको चुनावमा कसरी हार भयो, अब जित्न के गर्नुपर्छ भनेर कार्यकर्ताहरुको समिक्षा, र धारणा बुझ्न पाउछौं, यसले समग्रमा पार्टीलाई एकढिक्का बनाउन र भावी योजनाहरु तय गर्न महत्वपुर्ण हुनेछ ।’

धरानमा आामी मंसिर १४ गते मेयर पदको लागि उपनिर्वाचन पनि हुदैछ । यो नगरसभाको बन्दसत्रले उक्त निर्वाचनको लागि पार्टीको प्रमुख एजेण्डाहरु के हुने भन्नेबारेमा पनि मार्गनिर्देश गर्ने सभापति राईले बताए । ‘नगरसभा वा अधिवेशन यो शैलीमा गर्नुपर्छ भन्ने सबैको सुझाव अनुसार यसपाली गर्दैछौं, बन्दसत्रमा व्यापक छलफल पछि धरान घोषणा पत्र पनि जारी गछौं,’सभापति राईले भने । नगरसभाको उद्घाटनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन् भने उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाश शरण महत, महेश आचार्यलगायत केन्द्रीय नेताहरु पनि सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । यस्तै, युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्मा र गगन थापा पनि आउनसक्ने प्रवल सम्भावना रहेको सभापति राईले खुलाए ।
कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले यसखालको नगरसभालाई पार्टी, संगठनहरुले निरन्तरता दिने बताए । उनले क्षेत्र र वडा समितिहरुमा पनि यही शैलीमा सभा गरिने बताए । ‘धरानमा अब कांग्रेस एकढिक्का बनेको छ, त्यसको सन्देश यो नगरसभाले दिनेछ,’उनले भने,‘सभाको बन्दसत्रमा पार्टीको भावी योजनाबारे मात्र होइन, धरानको विकास कसरी गर्ने भनेर पनि वृहत छलफल गरेर पार्टीको धारणा तय हुन्छ ।’ उनले कांग्रेसको धरानमा भएको गुट, उपगुटको अन्त्य गरेर जनताको मुद्दालाई आफ्नो मुद्दा बनाउने र धरानको विकासको नेतृत्व लिने पनि बताए ।








































































