झापा: मध्य राती । सबैजना मस्त निन्द्रामा थिए । चारैतिर चकमन्न अध्यारो थियो । एकाएक सबै गाउले तर्सिन्छन् । मध्य रातमा ठुलो आवाज आउछ । आवाज के को हो भनेर ठम्याउन तत्कालै सक्दैनन् गाउँलेले । एक कान दुई कान हुँदै गाउँभरि बिष्फोटको आवाज बारे चर्चा हुन थाल्छ त्योपनि मध्य रातमै ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ३ स्थित धोबीनिया चोकको घटना हो यो । सोही स्थानमा पहुना खान गएकी झापा जुरोपानीकी कमला पराजुलीका कानमा पनि बिष्फोटको आवाज आईपुग्छ । उनी सँगै सुतिरहेका उनका छोराले उनलाई बाहिर नजान भन्छन् । तर कमलाको मन मान्दैन । रातिको समय अझ मौसम पनि खराब थियो । सायद बिजुलीको मिटर पो पड्किएछ क्यारे भन्ठानेर कमला मुल ढोका खोलेर बाहिर निस्किन्छिन् । तर बिजुली सबै ठिक छ । मिटर बक्स पनि ठिक देखेपछि भने कमलालाई डर लाग्न थाल्छ । के चाहि भएको होला भनेर उनी बरण्डामै टोलाईरहेकी हुन्छिन् । एकैछिनमा नजिकै रहेको ईन्द्रबहादुर कटुवालको घरमा मान्छेहरु हल्ला गरेजस्तो सुन्छिन् उनी । त्यसपछि कमलापनि त्यतै जान्छिन् ।
आईतबार मध्यराती झापाको गौरादह नगरपालिका ३ स्थित धोबिनिया चोकमा भएको घटना हो यो । जहा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र स्थानीय ईन्द्रबहादुर कटुवालको घरमा डेरा गरि बस्थे । उनले आफु चढ्ने नगरपालिकाकै स्वामित्वमा रहेको बा २ झ २५७० नम्बरको स्कार्पियो जिप आफै बस्ने घरको आगनमा पार्किङ्ग गरेर राखेका थिए । त्यहि गाडीलाई लक्षित गरि बिप्लब समूहका कार्यकर्ताले प्रेसर कुकर बम बिष्फोट गराएपछिको आवाज रहेछ त्यो बिष्फोटको आवाज । सबै गाउँले रातिदेखीनै त्रसित भए । बिष्फोटबाट मिश्र चढ्ने नगरपालिकाको गाडीमा क्षती पुगेको छ भने मिश्रले डेरा गरेर बसेको घरमा समेत क्षती पुगेको छ ।
बिष्फोटको बेला नजिकै सुतिरहेका थिए अधिकृत मिश्र
बिष्फोट गराएका बेला गौरादह नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र पार्किङ्ग गरेर राखेको नजिकै सुतिरहेका थिए । उत्तर तिर सिसरानी पारेर सुत्न हुदैन भन्ने सुनेका उनले दक्षिण थिर सिरानी पारेर सुतेका थिए । मध्य रातमा उनी मस्त निन्द्रमा थिए ।
अरुबेला खासै झुल टाग्न मन नलाग्ने मिश्रलाई आईतबार सुत्ने बेला झुल टाग्न मन लाग्यो र झुल टागे । जतिबेला बिष्फोटको आवाज आयो । त्यसबेला मिश्र झल्यास्स ब्युझिए । उनले आफ्नो नजिकै सिसाका टुक्राहरु प्रसस्तै देखे । त्योपनि कोठाभित्रै अझ आफ्नै ओछ्यानमै । झ्यालमा पर्दा थियो । केहि हदसम्म त झ्यालका सिससा फुट्ला पर्दाले छेकेछ क्यारे । तर पनि पर्दानै छेडेर सिसाहरु मिश्रका कोठामा यत्रतत्र छरिएका थिए । मिश्रले चट्याङ परेको होला भन्ठाने ।
त्यसैबेला घरधनी ईन्द्रबहादुर कटुवाल तल ओर्लिएर मिश्रलाई के को आवाज हौं सर भन्दै सोध्न थाल्छन् । त्यसपछि उनीहरु बाहिर निस्किन्छन् र देख्छन् गाडीमा भएको क्षती । तत्कालै मिश्रले झापाका प्रहरी प्रमुखलाई आफु चढ्ने गाडीमा कसैले बिष्फोट गराएको समाचार सुनाउछन् । लगत्तै रातिनै झापा प्रहरी प्रमुख मिश्रको डेरामा पुग्छन् । तर बिष्फोटबाट क्षती भईसकेको हुन्छ । अनुसन्धान गर्छौ भन्ने आश्वासन दिएर प्रहरी प्रमुख सदरमुकाम फर्कन्छन् ।
किन परे सागर बिप्लबको निशानामा ?
झेडै २२ महिनाजति भयो मिश्र गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएको । उनी आएदेखीनै केही बिबादित बन्दै गए । नगरपालिकाका बिभिन्न कामहरु बिबादित बन्दै गए मिश्र । उनले आफुले गल्ती नगरेको भन्दै पटक पटक स्पष्टिकरण पनि नदिएका होईनन् । तर यस अघिपनि डोल्पामा सहायक प्रमुख जिल्ला अधिकारी भएर बस्दा समेत बिबादित छबी बनाएर झापा आएका उनी बिर्तामोडमा समेत सामान्य बिबादमा परे । त्यसपछि उनी गौरादह सरुवा भएर पुगे । त्यहापनि उनी बिबादित नै बने ।
नगरपालिकाको बृत्तचित्र बनाउन आफु निकटका पत्रकारलाई ५ लाख रुपैया दिने भन्ने बिषय उनलाई बिबादित बनाउने अर्को कडी बनेको थियो । उनलाई पटक पटक स्थानीयले समेत सचेत गराएका थिए । कहिले नगरपालिका घेराउ गर्थे स्थानीयवासीले भने कहिले बिज्ञप्तीनै निकाल्थे । तरपनि उनको बिबादित छबि सुध्रिन नसकेको गौरादह नगरपालिकाकै एकजना कर्मचारीले नाम नबताउने सर्तमा भने । केही दिन अघि मात्र झापाकै भद्रपुरमा भएको एक कार्यक्रममा नगरपालिकिाबाट ४ जनाको टोली ३ वटा फरक फरक गाडी लिएर गएको ति कर्मचारीले बताए । सो बिषयमा नगरपालिका भित्रैका कर्मचारीबिचपनि निक्कै खासखुस चलेको थियो ।
बिप्लब समूहले लियो जिम्मेवारी
घटनाको जिम्मेवारी लिदै बिप्लब नेतृत्वको नेकपा माओवादीका झापा सेक्रेटरी मनिषले जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि र कर्मचारीलाई जनताकै माग अनुसार कारबाही स्वरूप बिष्फोट गराएको बताएका छन् । हिजोका दिनमा साईकलमा हुईकिनेहरु अहिले महङ्गा गाडीमा हुईकिनुपर्ने भन्दै नागरिकले जनगुनाशो गरेपछि आफुहरु भौतिक कार्बाहीमा उत्रिएको बिप्लब नेतृत्वको नेकपा माओवादीका झापा सेक्रेटरी मनिसको भनाइ छ । जनप्रतिनिधी र कर्मचारी अझपनि नसुध्रिए थप क्षती ब्योहोर्न बाध्य हुनुपर्ने मनिसले चेतावनी समेत दिए ।








































































