इटहरी : प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ४५ दिने मूर्तिकला कार्यशालामा प्रदेश १ का ३२ जनाले अहिले इटहरीमा मूर्ति बनाउन सिकिरहेका छन् ।
इटहरी मेट्रिक्सको आतिथ्यतामा भईरहेको मूर्तिकला कार्यशालामा प्रख्यात मूर्तिकार बिक्रम श्री को संयोजकत्वमा मूर्तिकला कार्यशाला भईरहेको छ । ‘प्रदेश १ का दुई जिल्ला सोलु र पाँचथर बाहेकका १२ जिल्लाबाट ३२ जना सहभागी हुनुहुन्छ,’ मूर्तिकार बिक्रम श्रीले भने, ‘२५ जनाको मात्रै कोटा रहेको थियो, तर हामीले ३२ जनालाई सहभागी गराएर मूर्तिकला कार्यशाला गराईरहेका छौँ ।’ उनका अनुसार ३२ जनामध्ये चार जना महिला सहभागी भएका छन् भने अन्य पुरुष रहेका छन् ।

नेपालमै पहिलोपटक क्रषिदेव र धिमाल समूदायका दुईजना व्यक्तिहरु पनि सहभागी भएर मूर्तिकला कार्यशालामा सहभागी भएकाले आँफूहरु हर्षित भएको श्रीले बताए । श्री भन्छन्, ‘हामीले मूर्तिकला कार्यशाला सम्पन्न गरिसकेपछि यहाँ बनाइएको मूर्तिहरुको एकपटक यहिँ प्रदर्शन गर्ने तयारी पनि गरिरहेका छौँ ।’ १४ बर्षकी किशोरी देखि ७० बर्षीया महिला पनि मूर्तिकला कार्यशालामा सहभागी भएकाले अन्य मानिसहरुलाई प्रेरित हुने उनले सुनाए । क्रषिदेव समूदायबाट पहिलो मूर्तिकार अजब क्रषिदेव, धिमाल समूदायबाट पहिलो मूर्तिकार वुद्धिमान धिमाल, ७० बर्षीया रेनुका तिम्सिना, १४ बर्षीया अनिसा इस्बो लगायत अन्य कलेज पढ्ने तीन जना तथा अन्य मानिसहरु कला क्षेत्रमै रहेका सहभागी भएको उनले सुनाए । उनले भने, ‘यो कार्यशाला मात्रै नभएर दक्षता अभिबृद्धि कार्यशाला समेत रह्यो, यहाँ बनाईएका कलाकृति हामी यहिँ राख्ने सोच बनाएका छौँ ।’

उनका अनुसार प्रदेश १ सरकारले मूर्ति कार्यशालाका लागि १२ लाख रुपैँया बजेट छुट्याएको भएपनि अझै ६ देखि ७ लाख रुपैँया बजेट अपुग रहेका कारण इटहरी मेट्रिक्सले नै बेहोर्ने समेत बताए । ‘प्रदेश १ मा यो बाहेक मूर्तिकला कार्यशाला औपचारिक रुपमा भएको थिएन,’ उनले भने, ‘यसअघि तीनवटा मूर्तिकला कार्यशाला मात्र भएको छ ।’ उनले २०४६ सालमा धरान, २०६१ सालमा इटहरीको काव्यवाटिका र २०६८ मा उदयपुरको त्रियुगामा मूर्तिकला निर्माण सम्बन्धी कार्यशाला भएको र आगामी दिनमा आँफूले यसलाई निरन्तरता दिदैँ जाने कुरामा जोड दिए । ‘अगुवा मूर्तिकारहरु पनि आएर कार्यशालामा केही कुरा सम्प्रेषण गर्नुहुन्छ,’ श्री भन्छन्, ‘मूर्तिकारले जतिखेर मुड आउँछ, त्यतिखेर मूर्ति बनाउने हो, तर त्यो भन्दा अन्य समयमा पनि मूर्ति बनाईराखेको अवस्था हो, यो कार्यशाला पछि हामी भव्य प्रर्दशनी गछौँ ।’









































































