धरान:निरन्तरको बर्षाले प्रदेश १ को राजधानी विराटनगरबाट पुर्वनिर्धारित मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल चरणका खेलहरु धरान सारियो । लिग आयोजक समितिले नै बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर बर्षाले शहिद रंगशाला खेल आयोजना गर्ने अवस्थामा नभएकोले आकस्मिक बैठक बसेर धरान सार्ने निर्णय गरेको जानकारी दियो ।

आखिर बर्षा सबैतिर नै भइरहेकै छ । तर, लिग आयोजकले धरानमा किन प्रतियोगिता सार्ने निर्णय गर्यो ? आयोजक समितिले बिहिबार दिउँसो प्रतियोगिता आयोजना गर्ने धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा पत्रकार सम्मेलन गर्दा नै मैदानले जवाफ दिइरहेको थियो । धरानमा पनि दुई दिनदेखि निरन्तर बर्षा भइरहेको छ । बर्षा भइरहदा पनि आयोजना भएको पत्रकार सम्मेलनस्थल पुग्दा रंगशालाको खेल मैदानमा पानी जम्मा भएको थिएन । जबकी विराटनगर रंगशाला डुबानमा परेको थियो ।

एन्फा केन्द्रीय प्रवक्ता एवं आयोजक समितिका अध्यक्ष किरण राईले पनि आयोजना धरान सार्नुको कारण पत्रकार सम्मेलनमा खुलाउदै भने,‘पानी पर्दा विराटनगरमा डुबान हुदो रहेछ, र लेदोले जमिएर खेल्नै नमिल्ने हुन्छ । धरानमा पानी परेपनि आधा, एक घण्टाभित्र खेल्न मिल्ने हुदो रहेछ, अरुतिर यस्तो वातावरण भेटिएन । यहाँ प्रादेशिक रंगशाला बनाउने माग सही रहेछ ।’

शुक्रबार बिहान र दिउँसो २ खेल हुने

IMG_9602

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु शुक्रबारदेखि धरानमा शुरु हुदैछ । प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुने भए पनि पहिलो खेल भने शुक्रबार बिहान धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

फाइनल चरणका खेलहरुमा प्रदेश १ को ३ क्षेत्रबाट २ वटा टिमको दरले ६ वटा टिम सहभागी छ । ती टिमलाई क र ख गरी २ समुहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिने आयोजक समितिका संयोजक राईले बताए । उनका अनुसार समुह क मा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा र बेलबारी फुटबल क्लब मोरङ परेको छ भने समुह ख मा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल खोटाङ र रेड हर्ष फुटबल क्लब इलाम परेको छ । प्रतियोगिताको फाइनल खेल असार ३१ गते धरान १६ स्थित रंगशालामा नै हुनेछ ।

शुक्रबार पहिलो खेल बिहान ८ बजे समुह क अन्र्तगतको धरान फुटबल क्लब सुनसरी र बौद्धिक विकास समाज समिति धनकुटाबीच हुनेछ । पहिलो खेल बिहान एन्फा एकेडेमीमा भए पनि दोस्रो खेल दिउँसो प्रादेशिक रंगशालामा नै हुने आयोजक समितिका अध्यक्ष राईले बताए । दोस्रो खेल समुह ख अन्र्तगत सैनिक यथ क्लब झापा र बाक्सिला फुटबल क्लब खोटाङबीच हुनेछ । प्रतियोगितामा दुई समुहबाट समुह विजेता टिम फाइनल पुग्नेछ । फाइनल खेल असार ३१ गते हुने आयोजकले जनाएको छ ।

dharan-stadium2

लिग विजेताले नगद ५ लाख र ४ केजी चाँदीको च्याम्पियन ट्रफी पाउनेछ भने उपविजेताले ३ लाख हात पार्नेछ । यस्तै, लिग विजेताले प्रेसिडेन्ट कप खेल्ने अवसर पनि पाउनेछ । प्रेसिडेन्ट कपमा अन्य प्रदेशबाट च्याम्पियन एउटा टिमले मात्र सहभागी हुन पाउने भएपनि प्रदेश १ बाट भने २ वटा टिमलाई समावेश गराउने बिषयमा पनि छलफल भइरहेको संयोजक राईले बताए । ‘यो लिग प्रतियोगिता भएकोले सबै टिम र खेलाडीलाई समानरुपमा सेवा सुविधा उपलब्ध गराउनको लागि पुरस्कार रकम थोरै राखिएको छ,हामीले व्यवस्थापनमा मात्र १५ प्रतिशत जति बजेट छुट्याएका छौं, बाँकी ८५ प्रतिशत बजेट लक्षित वर्गसम्म पुगेको छ,’उनले भने ।

'पैसा हिनामिना हुदैन, खर्च सार्वजनिक गछौं '

आयोजक समितिका संयोजक राईले झारो टार्न नभै प्रतियोगिताको गुणस्तरीयतामा जोडदिएको दाबी गरे । साथै उनले आयोजना सञ्चालन र खर्चलाई पारदर्शी बनाउने पनि बताए । असारे विकासका योजनासँग दाजेर टिप्पणी गरिएकोप्रति असन्तुष्ट रहेका उनले बजेट पचाउन प्रदेश लिग आयोजना नगरिएको बताए । ‘बजेट पचाउन असारे कार्यक्रम भयो भनेर पनि टिप्पणी भइरहेको छ, तर हामीले गुणस्तरीय प्रतियोगिता गराइरहेका छौं, आर्थिकरुपमा पारदर्शिता छ, खर्चको हिसाबकिताब सार्वजनिक गछांै,’उनले भने,‘खेलाडी र क्लबहरुलाई लक्षित गरेर बजेट विनियोेजना गरिएको छ, झारो टार्न मात्र गरेको भए विराटनगरमा नै गरिहाल्थ्यौं नि ।’

dharan-stadim-3