धरान : धरानको वडा नं १८ बालमैत्री वडा घोषणा भएको छ । बाल मैत्री वडाको लागि आवश्यक सुचाकहरु पुरा गरेपछि आज आइतबार एक समारोहबीच घोषणा गरिएको हो ।
धरान १८ स्थित कार्मेल हाईस्कुलको प्रांगणमा भएको समारोहमा प्रमुख अतिथि एवं प्रदेश १ सभाकी सदस्य सावित्री श्रेष्ठ जोशीले घोषणा गरेकी थिइन् । घोषणा सभामा वक्ताहरुले बालमैत्री वडा घोषणा पछि पनि दिगोपन दिलाउन ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रमकी प्रमुख अतिथि एवं प्रदेश सांसद श्रेष्ठले घर नै पहिलो पाठशाला भएकोले आफ्ना छोराछोरीलाई राम्रो बोली, व्यवहार सिकाउन आग्रह गरिन् । घरमा सिकेको सँस्कार अनुसार समाज, स्कुलमा पनि बच्चाहरुले सोही अनुसार हुर्कने उनको भनाई थियो । ‘आज वडा १८ बालमैत्री वडा घोषणा भएको छ, यो खुशी कुरा हो । बच्चाहरुको लागि घर नै पहिलो पाठशाला हो, घरमा नै सभ्य सँस्कारहरु सिकाउनुपर्छ,’उनले भनिन् ।

धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानको दुव्र्यसनीहरुको सहर भन्ने कलंकलाई बदल्न लागिपरेको बताइन् । ‘धरानलाई ड्रगिष्टहरुको सहर, दुव्र्यसनीको सहर भनिन्छ, हामी त्यो कलंक बदल्न लागेका छौं,’कार्यवाहक मेयर भण्डारीले भनिन्,‘बालबालिकाहरुको भविष्य सुनौलो र सुरक्षित बनाउने अभियान पनि यो हो । बालबालिकाको अधिकार सुरक्षित गर्दै देशको असल नागरिक बनाउने उद्देश्य हो ।’
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपाध्यक्ष कृष्णकुमारी बिकले संविधान प्रदत बालअधिकारलाई सुरक्षित गर्नकै लागि बालमैत्री वडा आवश्यक भएको बताइन् । धरानको पहिलो बालमैत्री वडा १३ का अध्यक्ष नेत्र काफ्लेले घोषणा गरेपछि दिगोपन दिलाउन चुनौती हुने धारणा राखे । उनले सबैको प्रतिवद्धता आवश्यक भएको बताए । नेकपाका जिल्ला सदस्य प्रकाश राईले अधिकारसँगै कर्तव्य पनि निर्वाह गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नगर सभापति तिलक राईले बालबालिकाहरुप्रतिको आफ्नो सँस्कार, बोली र व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए । बालबालिकाहरुलाई जिम्मेवार बनाउन अभिभावकहरुको पनि ठुलो भुमिका रहने उनले बताए । पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफलेले धरानलाई बालमैत्री नगर बनाउन सडक बालबालिकाहरु चुनौती हुनसक्ने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बालमैत्री घोषणालाई दीर्घकालिन बनाउन योजना बनाइरहन आग्रह गर्दै यसमा सबैले साथ दिनुपर्ने बताइन् । विद्यालयहरुले पनि बालमैत्री वातावरणको लागि ध्यान दिनुपर्ने बताइन् ।

वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले सबैको साथ, सहयोगले बालमैत्री वडा घोषणा गर्न सफल भएको बताए । भविष्यमा पनि बालमैत्री वडालाई कायम गराउन वडा सजग रहने उनले बताए । कार्यक्रममा डिपोट हाइस्कुलका प्रिन्सिपल राजकुमार राई, नगर बाल सञ्जालका सचिव निश्चल खड्का, वडा बाल सञ्जालकी अध्यक्ष मोनिका श्रेष्ठलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने वाककला पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा सहयोगी संघसंस्था एवं व्यक्तिहरुलाई सम्मान, कदर तथा प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । सोही समारोहमा विपी प्रतिष्ठानको एमडिएस प्रवेश परीक्षामा टपर भएका डा.सिद्धार्थ राई र बास्केटवलको यु १६ राष्ट्रिय टिममा छनौट भएर वंगलादेशमा आयोजित साफ खेल्न गएका बैभव योगीलाई पनि सम्मान गरिएको थियो । दुवै डिपोट स्कुलका विद्यार्थी हुन् ।
बाल उद्यानको उद्घाटन
बालमैत्री वडा घोषणासँगै आइतबार वडा १८ को बाल उद्यानको पनि उद्घाटन गरिएको छ । वडा कार्यालय रहेको खाली जमिनमा वडाले बालबालिकाको लागि उद्यान(पार्क) स्थापना गरेको छ ।
वडाले बनाएको उद्यानमा बालबालिकाहरुको लागि पिङ, गोलघर, चिप्लेटी, बगैचा, टेवलटेनिसलगायत संरचनाहरु निर्माण गरिएको छ । प्रमुख अतिथि एवं प्रदेश सांसद सावित्री श्रेष्ठ जोशीले उक्त उद्यानको रिबन काटेर उद्घाटन गरेकी थिइन् । उद्घाटन गर्नुअघि बालमैत्री घोषणा सभा समारोहबाट बाल उद्यानसम्म झाँकीहरुसहित र्यालीसमेत निकालिएको थियो ।









































































