इटहरी: इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पत्रकारमाथि पटक–पटक दुव्र्यवहार गरेको बिषयलाई लिएर सत्यतथ्य अध्ययन गर्न नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले मिसन टोली गठन भएको छ ।

महासंघको आज बसेको बैठकले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा ४ सदस्यीय मिसन टोली गरेको हो । टोलीको सदस्यमा गणेश लम्साल, महासंघ सुनसरी अध्यक्ष अमर खड्का र महासंघका प्रदेश सदस्य जयकृष्ण यादव रहेका छन् । टोली गठनबारे प्रेश विज्ञप्ती जारी गर्दै महासंघ प्रदेश समितिले समाचार लेखेकै आधारमा धाकधम्की र दुव्र्यवहारलगायत घटनाले पत्रकार विराट गौतम विस्थापित हुने अवस्थामा पुगेको उल्लेख छ । साथै, पत्रकार गौतमलाई आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय गरेको पनि विज्ञप्तीमा जनाइएको छ । ‘पत्रकारमाथि दिएको धाकधम्की र दुव्र्यवहारको घटनालाई प्रमुख चौधरीले भ्रष्टाचारको बिरोध गर्दा उत्पन्न घटना र पित पत्रकारिता भन्दै बिषयान्तर गरेर आफ्नो गलत हर्कत ढाकछेप गर्ने प्रयास गरेको र त्यसै अनुसारका धारणाहरु सामाजिक सञ्जालमा आएकाले महासंघको ध्यानाकर्षण भएको छ,’विज्ञप्तीमा भनिएको छ।

press 1

घटनाबारे प्रतिक्रिया दिदा तथ्यमा आधारित रहेर मात्र दिन पनि महासंघले आह्वान गरेको छ । गठन भएको उक्त टोलीलाई केही दिन अगाडि धरानमा पनि पत्रकार दिलबहादुर राईमाथि भएको आक्रमणको तथ्य अध्ययन गर्न जिम्मेवारी दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघ प्रदेश कमिटिले मेयर चौधरीले नेकपा जोडेर पनि धम्की दिइरहेकोले उनको गतिविधिबारे आफ्नो धारणा स्पष्ट पार्न पनि पार्टीलाई आग्रह गरेको छ । साथै, घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र स्वतन्त्रतापुर्वक पत्रकारिता गर्ने वातावरण निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।