काठमाडौँ  :  इटहरीका पत्रकार विराट अनुपमको नाक भाँच्न एक करोड छुट्याएको भन्दै धम्की दिने मेयर द्वारीकलाल चौधरीलाई कारबाही गर्न संघीय संसदका सांसदहरुले माग गरेका छन् ।

आज बिहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले मेयर चौधरीलाई कारबाही गर्न माग गरेका हुन् । सांसदद्धय सुजाता परियार र हिरा गुरुङले शुन्य समयमा बोल्दै फौजदारी अपराध अन्तर्गत कारबाही गर्न माग गरेका हुन् । स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत र कानुनी राज्यको मान्यता पनि उल्लंघन हुने गरी मेयर चौधरीले धम्की दिएकोले फौजदारी कानुनअन्तरगत कारबाही गर्न सांसद परियारले माग गरिन् ।

कांग्रेसकी सांसद परियारले भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो ? उनलाई कारबाही गरियोस् ।’ अर्का सांसद गुरुङले इटहरीका मेयरले दुई तिहाइको दम्भ देखाएको बताइन् । मेयरलाई फौजदारी अपराध अन्तरत कारबाहीको दायरामा ल्याउन माग गर्दै उनले कानुनी राज्यमा कसैले पनि धम्की दिन नसक्ने बताइन् ।